• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

जुम्लाका एक सय ४३ भेडा किसानले पाए गोठालो भत्ता

जुम्ला । जुम्लाका एक सय ४३ जना किसानले गोठालो भत्ता पाएका छन् । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा दुई सय ६५ किसानले निवेदन दिएका थिए । निवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन्, कृषक हो कि होइन भन्ने विषयमा जानकारी लिन कर्मचारी फिल्ड स्तरमा गएका थिए ।

स्थलगत रिपोर्ट र मूल्यांकनपछि मात्र एक सय ४३ जनाले गोठालो भत्ता पाएको पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले बताए । उनले भने, ‘सरकारले जुम्लामा भेडाको उत्पादन बढाउन यस्तो ब्यवस्था गरेको हो। एक वर्षभरि भेडा हेर्ने जाँदा आवश्यक सामान किन्न केही सहज होस् भन्ना उनीहरूलाई प्रोत्साहनस्वरूप गोठालो भत्ता दिने गरेको छ ।’

भेडा पालक किसानलाई प्रोत्साहन गर्न ‘गोठालो भत्ता’ दिने कार्यक्रम लागू गरिएको पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख महतले बताए । उनका अनुसार ५० देखिमाथि भेडा पाल्ने किसानलाई मासिक एक हजार पाँच सयका दरले वार्षिक १८ हजार रुपैयाँ भत्ता दिइएको हो। यो कर्णाली प्रदेश सरकारले भेडाको उत्पादन बढाउन लागू गरेको नियमित कार्यक्रम हो ।

रकम सम्बन्धित किसानको बैंक खातामै जम्मा गरिएको छ । यो कार्यक्रमले किसानको रुचि भेडापालनतर्फ बढ्ने अपेक्षा गरिएको छ । पशु अस्पताल तथा पशुसेवा कार्यालयमा दुई सय ८४ किसानले आफ्नो फार्म सूचीकृत गराएका छन् । कर्णाली सरकारले गोठालो भत्ता तथा यसअन्तर्गतका अन्य कार्यक्रमका लागि साबिक कर्णालीका पाँच जिल्लामा ७२ लाख रुपैयाँ विनियोजन गरेको थियो ।