कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला प्रहरी परिसर काठमाडौंले अनुमति पाएको छ ।

प्रहरीले जिल्ला अदालत काठमाडौंबाट सिंहविरुद्ध अनुसन्धानका लागि थप समय हिरासतमा राख्न अनुमति पाएकाे हाे ।

यसअघि अपूर्वका परिवार र नेवाः समुदायका अभियन्ताबीच छलफल भएर क्षमापत्र लेखाएर उनलाई छुटाउने प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।

क्षमायाचना गरेर भिडियो हटाए पनि एक साताभन्दा लामो समयदेखि हिरासतमा राखिएको भन्दै क्षितिजको रिहाइको माग भइरहेको छ । सामाजिक सञ्जालदेखि संसदसम्म उनको रिहाइका लागि माग उठेको छ ।

संसदमा विशेष समय लिएर नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो हास्य कला प्रस्तुत गर्ने क्रममा कसैलाई मर्का परे पनि क्षमायाचनापछि थुनामा राखिएको भन्दै आपत्ति जनाएका थिए ।

कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकको सामग्रीमा अभियन्ताहरुले आपत्ति जनाएका थिए । नेवार समुदायको आक्रोश बढ्न थालेपछि क्षितिजले युट्युबबाट भिडियो हटाएका थिए ।

तर सम्पदा संरक्षण महाअभियानको नेतृत्वमा १०४ जनाको हस्ताक्षरसहित जिल्ला प्रहरी परिसर, टेकुमा किटानी जाहेरी दर्ता गराएका थिए । सोधपुछका लागि बोलाइएका अपूर्व भदौ १२ गते अभद्र व्यवहारको कसूरमा पक्राउ परेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१