करबापत महानगरले उठायो साढे ३ करोड

काठमाडौं  । काठमाडौं महानगरपालिकाले घरबहाल, मनोरञ्जन र सम्पत्ति करबापत ३ करोड ४० लाख रूपैयाँ संकलन गरेको छ। काठमाडौं महानगरपालिकाले कर उठाउन करिब एक महिनादेखि ताकेता गरेको थियो।

सो अवधिमा १५ वटा संस्थाले ३ लाख ४० लाख ४१ हजार ६ सय ६४ कर बुझाएको काठमाडौं महानगरपालिकाले जनाएको छ। घरबहाल कर, मनोरञ्जन कर र सम्पत्ति करबापत उठेको महानगरपालिकाका राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार सम्पत्ति करबापत १ करोड ८० लाख ७३ हजार ३११ रूपैयाँ, घरबहाल करबापत ७३ लाख २३ हजार २५५ रूपैयाँ र मनोरञ्जन करबापत ८६ लाख ४५ हजार १८९ रूपैयाँ कर संकलन भएको छ।

लामो समयदेखि महानगरपालिकालाई कर नतिर्ने र कर छल्दै आएका करदातालाई कर बुझाउन महानगरले सूचना जारी गरेको थियो। सोही आधारमा सपिङ मल, मनोरञ्जन क्षेत्रलगायतले कर तिरेको महानगरले जनाएको छ। महानगरपालिकाले पटक पटक ताकेता गर्दा पनि अझै सबै कर उठ्न सकेकाे छैन।

यति नै कर उठाउन बाँकी (बक्यौता) छ भन्ने यकिन तथ्यांकसमेत महानगरपालिकासँगछैन। विभागीय प्रमुख अधिकारीले भने, ‘महानगरले यति नै कर उठाउन बाँकी छ भन्ने यकिन तथ्यांक छैन। पछिल्लाे समय करदाताले कर बुझाउन थाल्नु भएको छ। त्यसैले पनि यति नै बाँकी भन्ने अवस्था छैन।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी (खाद्य संस्थान) लिमिटेड, कर्मचारी सञ्चय कोष, गुठी संस्थान, नेपाल विद्युत् प्राधिकरण, कृषि सामग्री कम्पनी लिमिटेड, रञ्जना ट्रेडिङ सेन्टर न्युुरोड, साझा भण्डार भोटाहिटी, राष्ट्रिय नाचघर जमल, नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थाले कर तिर्न बाँकी रहेको प्रमुख अधिकारीले जानकारी दिए।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१