रवीन्द्र मिश्रसँग मलाई दाँज्नु सक्खरलाई गोबर देखेजस्तै : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संस्कृतिलाई समयानुकुल परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषिप्रधान कालखण्डमा भगवानको परिकल्पना गर्नु स्वभाविक भएपनि अब मानिसको चेतनाअनुसार परिवर्तन गर्न सक्नुपर्ने बताएका हुन्।

एउटा कालखण्डमा उत्पन्न भएको विचार समयानुकुल संस्कृतिका कुरालाई परिवर्तन गर्न कुसँस्कारको रूपमा पछिसम्म स्थापित हुने बताए। उनले केही वर्ष यता नाम फेरिए पनि विचार र सिद्धान्तमा विचलन नभएको दाबी गरे।

सामाजिक सञ्जालमा बाबुराम र रविन्द्र मिश्र उस्तै रहेछन् भन्ने कुरा उठिरहेको उल्लेख गर्दै उनले पुरातन राजावादी र अग्रगमनकारी शक्ति कहिल्यै उस्तै नहुने जिकिर गरे। राजावादी र अग्रगमनकारी शक्तिलाई एकै ठाउँमा दाँज्नु, गुड (सक्खर) र गोबर झैँ भएको उल्लेख गरे।

‘हाम्रो नाम परिवर्तन भए पनि सार एउटै छ। अहिले पार्टीको नाम मात्रै फेरिएको छ, दिशा र विचार एउटै छ। समुन्नत र सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने लक्ष्य हो’ उनले भने, ‘आज सामाजिक सञ्जालमा देखेँ, आखिर वैकल्पिक भन्नेहरूको पनि स्पष्टता थिएन, रवीन्द्र मिश्र राजावादीतिर जाँदैछ, बाबुराम पनि पछि फर्कियो भन्नेछ। अब यो त गुड र गोबर हेर्दा त उस्तै उस्तै हुन्छ, तर कति गहिराइमा गएर हिँडेको छ भन्ने कुरा हो, त्यसको आधारभूत कुरा त केही मिल्दैन।’

उनले आफ्नो पार्टीको लक्ष्य समुन्नत र सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने रहेको भन्दै आगामी निर्वाचनमा आफ्नो पार्टीको प्रतिनिधि संसदमा पठाउने गरी तयारी गर्न पनि नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए।

नेपाल जस्तो बहुजातीय, बहुभाषिक मुलुकमा संघीय संरचना जाती, भाषा अनुसारको पहिचानको प्रदेश संरचना बन्नुपर्नेमा त्यो नबन्नु अपूरो भएको बताए। नेपालको शासकीय प्रणाली खिचडीजस्तो भएको टिप्पणी गरे।

‘नेपालको जस्तो भूराजनीतिक अवस्था छ, दुई ठूला देशको बीचमा हामी छौँ, त्यसलाई ध्यान दिँदै हामीले पूर्ण रूपमा क्रान्ति पूरा गर्न नसकेको नै हो। सम्झौताको बाटोबाट गएपनि मुलतः संविधान बनाएर अग्रगमनको ढोका खोल्यौँ। तर पूर्ण गर्न सकेनौँ’ उनले भने, ‘पहिलो कुरा बहुजातीय, बहुभाषिक मुलुकमा संघीय संरचना जसरी आफ्नो जाती भाषा अनुसारको पहिचानको प्रदेश संरचना बन्नुपर्थ्यो, त्यो नबन्नु अपूरो हो। अर्को जुन शासकीय निर्वाचन प्रणाली अपनायौँ, त्यो खिचडी खालको अपनायौँ।’

आगामी निर्वाचनमा आफ्नो पार्टीको शक्तिहरू संकलन गरी समाजवादी विकल्प निर्माण गर्ने लक्ष्य लिएको बताए।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१