• २०८३ असार ३
  • 2026 June 17, Wednesday

गगन थापाले भने- पार्टीभित्रै विद्रोह गर्ने बेला आएको छ

  • २०७९ असोज १४, शुक्रबार ०६:३५

काठमाडौँ ।  नेपाली कांग्रसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र विद्रोह गर्ने बेला आएको बताएका छन् । शुक्रबार बिहान चावहिलमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धन चुनाव जित्नका लागि मात्र भएको उल्लेख गर्दै अघिल्लो निर्वाचनदेखि आउँदो निर्वाचनसम्म पार्टी गोलचक्करमा मत्रै चलेकाले अब पार्टीभित्र संघर्ष गर्ने बेला आएको उल्लेख गरे ।

उनले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टीहरु निर्वाचनको गोलचक्करमा मात्रै सिमित भएको दाबी गरे। महामन्त्री थापाले पार्टी भित्रका नेताहरुले नै पार्टीमा न्याय, सन्तुलन, पार्टी भित्र सबैलाई सही ढंगले हेरिएन भन्ने ठूलो आवाज उठाइरहेको भन्दै अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यक्ताको बोध हुन थालेको जिकिर गरे।

‘हामीले आफ्नै पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको छ। आफ्नै पार्टीभित्र ठूलो बिद्रोह गर्नुपर्ने बेला आएको छ’, उनले भने, ‘हाम्रो आफ्नै पार्टी भित्र अहिले हर्ने हो भने यत्रो ठूलो असन्तुष्टि छ । पार्टीमा न्याय भएन भन्नेछ । सन्तुलन भएन, पार्टी भित्र सबैलाई सही ढंगले हेरिएन भन्नेछ ।‘पार्टीलाई ठिक ठाउँमा पुर्‍याउनुपर्ने बेला आएको छ। नत्र त पार्टी सत्ताको मात्र हतियार हुनेभयो।’

उनले युवाको समर्थनले आफूमा यस्ता विकृतिलाई चिर्ने शासह थपिएको भन्दै युवालाई निराश नबनाउने प्रतिवद्धतासमेत व्यक्त गरे।

‘यो सबै कुरालाई चिर्नको लागि अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यक्ताको बोध हुन थालेको छ। यसको लागि युवाहरुको उपस्थितिले तागत बढाएको छ । युवाहरुलाई निराश बनाउँदिन,’ उनले भने।

महामन्त्री थापाले सरकारले डेंगु नियन्त्रणलाई प्राथमिकता नदिएको भन्दै सरकारको आलोचना गरे।

उनले सरकार मात्र निर्वाचन लगायत अन्य कुरामा केन्द्रित भएको र जनताको स्वास्थ्योपचारमा उदासिन बनेको बताए। उनले पूर्ववर्ती सरकारलाई कोरोनाको बेलामा काम भएन भनेर बिरोध गरिरहेको तर अहिले आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारबाट डेंगु नियन्त्रण र न्युनिकरणका लागि पहल हुन नसकेको बताए।

  • २०७९ असोज १४, शुक्रबार ०६:३५