काठमाडाैं । किएभमा सोमबार बिहानै भएका धेरैवटा विस्फोटनमा कैयौँ मानिसहरूको मृत्यु हुनुका साथै घाइते भएको युक्रेनी आपत्कालीन सेवाहरूले जनाएका छन् ।
युक्रेनको राजधानी सहरको केन्द्रमा स्थानीय समय अनुसार बिहानको ८ बजे लगत्तै कम्तीमा दुई वटा विस्फोटनको आवाज सुनिएको थियो ।
कैयौँ महिनाको अन्तरालमा किएभमा त्यस्तो हमला भएको हो ।
बीबीसी संवाददाताहरूका अनुसार देशका अन्य भागहरूबाट समेत विस्फोटनका खबर आइरहेका छन् ।
ती विस्फोटनहरू युक्रेन युद्धको सुरुमा भएका रुसी हवाई हमलामा भन्दा निकै धेरै केन्द्र भागमा सोझिएका देखिन्छन् ।
यी हमलाहरू रुसको अधीनस्थ क्राइमियासँग जोडिने एकमात्र पुलमा विस्फोटन भएर क्षति भएको दुई दिनपछि भएको हो ।
सामाजिक सञ्जालमा राखिएका तस्बिर तथा भिडिओहरूमा किएभको कैयौँ भागहरूबाट धुवाँको मुस्लो उडिरहेको देखिन्छ ।
किएभमा रहेका बीबीसी संवाददाता पोल एडम्सका अनुसार हवाई हमलाको पूर्वजानकारी दिने साइरनहरू झण्डै ९० मिनेट अघि बजेका थिए ।
सोमबार बिहान युक्रेनभर भएका हवाई हमलाहरूले रुसले ‘संसारबाट हाम्रो नामनिसान मेटाउन चाहेको’ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
टेलिग्राममा लेखिएको एउटा पोस्टमा उनले किएभ, जेपोरिजा र डिनिप्रोमा भएका विस्फोटनलाई जनाउँदै त्यो युक्रेनभर कम नहुने बताए ।
‘दुर्भाग्यवश, मानिसहरूको ज्यान जाने र अङ्गभङ्ग हुने काम भइरहेको छ’ भन्दै उनले युक्रेनी नागरिकहरूलाई घरमै बस्न भने ।
रुसले भने सोमवार बिहानको हमलाबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
हालसम्म देशको मध्यमा रहेको डिनिप्रो, दक्षिणमा रहेको जेपोरिजा र पश्चिममा रहेको लभिभमा हमलाहरू भएका विवरण आएका छन् ।