
काठमाडौँ । डेङ्गीका धेरैजसाे बिरामीहरुमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरुले आग्रह गरेका छन् ।
डेङ्गी संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै शतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन् । अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेङ्गी हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताउनु भयो । डेङ्गी हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने जस्ता लक्षणहरु बढी देखिने बताउनु भयो ।
डा. गौतमले पछिल्ला दिनहरुमा ९० प्रतिशत बिरामी डेङ्गीका रहेको पनि बताउनु भयो । डेङ्गी, फ्लू र सामान्य रुघाखोकी, ज्वरो लगायतमा केही लक्षणहरु एक आपसमा मिल्ने भएकाले रोग विशेषका लक्षणहरुको पहिचान गरी शतर्क रहन पनि सुझाव दिनुभयो । डेङ्गी सरुवा रोग नभएकाले परिवारको सदस्यलाई डेङ्गी लाग्यो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको भन्दै उहाँले ज्वरो घटेन भनेर चिकित्सकको सल्लाह बिना जथाभावी औषधि सेवन नगर्न पनि आग्रह गर्नुभयो ।