
काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले नेपाली स्वास्थ्यकर्मीको छनोट, पदस्थापना र सेवा सुविधासम्बन्धी प्रोटोकल (मापदण्ड)को मस्यौदा तयार गरेको छ । यो मस्यौदा प्रोटकलमा बेलायतसँग सहमति गरेर मन्त्रिपरिषद्बाट परित गरिनेछ ।
नेपाल र बेलायतबीच परीक्षणको रुपमा प्रथम चरणमा नेपाली नर्सहरुलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई ‘इम्प्लिमेन्टेसन प्रोटोकल’बारे स्पष्ट व्यवस्था गर्ने सहमित भएको थियो ।
मन्त्रालयले आगामी पुस–माघसम्म्म बेलायतमा पठाइने नर्सका लागि आवेदन माग गर्नेछ । प्रोटोकलले तोक्ने व्यवस्था अनुरुप योग्य ठहरिएका नर्सले बेलायतमा रोजगारीका लागि आवसर पाउने मन्त्रालयका एक अधिकारीले बताए ।
गत ६ भदौमा नेपाल सरकार र बेलायत सरकारबीच बेलायतमा नेपाली नर्सलाइ रोजगारी दिने सम्बन्धी श्रम सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौताको कार्यान्वयन ढाँचा (इम्प्लिमेन्टेसन प्रोटोकल) बमोजिम नेपाली नर्सले बेलायतमा अवसर पाउने सहमति भएको छ।
सम्झौता अनुसार स्वास्थ्यकर्मीको छनोट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रिया बमोजिम हुनेछ । नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एनएचएस) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाउने सहमति भएको छ ।