• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

मौसममा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव, पहाडी भेगमा चिसो बढ्दै

  • २०७९ कात्तिक ४, शुक्रबार ०५:२८

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला (शुक्रबार बिहान) देशको पहाडी भेगमा आंशिक बदलीदेखि सामान्यता सफा रही बाँकी भूभागमा मौसम सामान्यता सफा छ।

दिनप्रतिदिन देशभर चिसो बढ्दै गएको महाशाखाका मौसमविद्ले बताएका छन्।

मौसमविद् हीरा भट्टराईले हिजोआज खासगरी पहाडी भेगमा दिनदिनै तापक्रम घट्दै गएको बताए।

आज बिहानको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२.३ डिग्री सेल्सियस रहेको उनले जानकारी दिए। अन्य स्टेसनको न्यूनतम तापक्रमको विवरण आउन भने बाँकी छ।

बिहीबार सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा देखिएको छ। त्यहाँ बिहीबार न्यूनतम तापक्रम १ डिग्री सेल्सियस रहेको महाशाखाको विवरणमा उल्लेख छ। बिहीबार काठमाडौं उपत्यकाको तापक्रम १२.५ डिग्री सेल्सियस थियो भने सबैभन्दा बढी न्यूनतम तापक्रम भैरहवामा २० डिग्री सेल्सियस थियो।

वर्षा र बदलीको सम्भावना
महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

यस्तै राति देशको पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

  • २०७९ कात्तिक ४, शुक्रबार ०५:२८