
काठमाडाैं । नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको जितलाई पार्टीको प्रतिष्ठासंग जोडेपछि अहिले सबैको ध्यान यसको विश्लेषणमा केन्द्रीत भएको छ । ओलीले यति मात्र होइन लिङ्देनले हारे देशद्रोहीको जित हुने समेत टिप्पणी गरे ।
ओलीले देशद्रोही भनेर कसलाई भनेका हुन् त ?
यसको सिधा जवाफ छ कृष्ण सिटौला । कांग्रेस नेता सिटौला लिङ्देनका प्रतिष्पर्धी हुन् । ओलीले एमाले कार्यकर्तालाई सम्बोधन गर्दै लिङदेनको जित एमालेको प्रतिष्ठाको विषय भएको बताए ।
राप्रपा केन्द्रीय सदस्य मीना सुवेदीका अनुसार ओलीको यो अभिव्यक्ति राप्रपा वा लिङ्देनको मायाले आएको होइन । स्वयं ओलीलाई जित्न पनि लिङ्देनको साथ र समर्थन चाहिएको छ । लिङ्देनको सहयोग नभए ओली आफैँ हार्ने स्थिति भएकाले राप्रपाको मत तान्न उनले त्यस्तो अभिव्यक्ति दिएका हुन् ।
राप्रपा वा लिङ्देनसँग लगाव भए एमसीसी पास गर्न एमालेले सहयोग गर्ने थिएन । राप्रपाका कार्यकर्ता सडकमा कुटिदा एमाले मौन बस्ने थिएन । नागरिकता विधेयक पास गर्दा दोहोरो मापदण्ड अपनाउने थिएन । अहिले राजनीतिक लाभका लागि मात्र ओलीले पासा फालेका हुन् ।
एमालेसँगको चुनावी गठवन्धन राप्रपाका लागि बाध्यता भएको सुवेदीको ठहर छ । एमालेसँग सबै ठाउँमा नभइ राजेन्द्र लिङ्देन, धवलशम्शेर राणा र दिपक बोहोराका चुनावी क्षेत्रमा मात्र तालमेल भएको सुवेदीले बताइन् ।
राप्रपाबाट पूर्व अध्यक्ष पशुपतिशम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनी लगायतका नेताहरु समानुपातिक सूचीमा भएकाले यसपटक उनीहरु संसद प्रवेश गर्ने लगभग निश्चित भएको छ । पार्टीका वरिष्ठ नेताहरु संसदमा हुँदा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री हुने सम्भावना बढेको छ ।
सुवेदी भन्छिन्, ‘मलाई त राष्ट्रपति पशुपतिशम्शेर, डा. प्रकाशचन्द्र लोहनी र प्रधानमन्त्री राजेन्द्र लिङ्देन भएको हेर्न मन छ । अब निर्वाचनपछि यो सम्भवना देखिन्छ पनि । ’
मुलकमा राजसंस्था र हिन्दू धर्मको एजेण्डाप्रति आकर्षण बढिरहेकाले छिटो भन्दा छिटो राजसंस्था र हिन्दू धर्म पुनर्स्थापना हुने सुवेदीको दावी छ ।
विस्तृत भिडिओमा :