काठमाडौं ९ मा १७ हजार भन्दा बढी मत ल्याएर जित्छु : मिलन पाण्डे (भिडिओसहित)

काठमाडाैं । मिलन पाण्डे एक कुशल इन्जिनियर हुनुकासाथै ‘विवेकशील अभियन्ता’ पनि हुन् । शिक्षा, स्वास्थ्य, भ्रष्टाचार लगायतका सवालमा एक दशकदेखि निरन्तर अभियान चलाइरहेका पाण्डे शिक्षा क्षेत्रमा विशेष दख्खल राख्छन् ।

आगामी निर्वाचनका लागि पाण्डे काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट उम्मेदवार बनेका छन् । चुनाव चिन्ह ‘पाइला’ पाएका पाण्डे आफना मतदाताबाट निकै उत्साहित छन् ।

पाण्डे भन्छन्, ‘जहाँ जान्छु न्यानो स्वागत पाएको छु । मलाई त्यहाँका हरेक मतदाताले चिन्छन् । एक दशकदेखि मैले गरिरहेको काम, मेरो इमान र अनुशासन, मेरो लगन र नैतिकताप्रति सबै जानकारछन् । सबैले भोट तपाईलाई नै हो भन्ने गरेकाछन् । म पनि ढुक्क छु । १७ हजार भन्दा बढी मत ल्याएर जित्छु ।’

आफना प्रतिष्पर्धी एमालेका कृष्णगोपाल श्रेष्ठप्रति कटाक्ष गर्दै पाण्डे भन्छन्, ‘ त्रिविको दीक्षान्त समारोहमा गएर केपी ओली भनेको पेले हो, कोही छ माइकालाल भन्ने श्रेष्ठ अंकलले मंसिर ४ गते थाहा पाउँछन्, माइकालाल को हो ?’

कृष्णगोपाल आफूसँग राजनीतिक बहसमा उत्रिन नचाहेकाले उनी लगभग हारको मानसिकतामा पुगिसकेको पाण्डेको तर्क छ । श्रेष्ठ र सत्ता गठवन्धनकी कल्पना धमला दुवैको आफनो निर्वाचन क्षेत्रमा कुनै योगदान नभएको पाण्डे बताउँछन् ।

शिक्षा, रोजगार र उद्यमशिलतालाई आफूले प्रमुख एजेण्डा बनाएको बताउँदै पाण्डेले संसदमा आफू एक्लो भए पनि न्यायका पक्षमा बहुमत जुटाउनसक्ने सामर्थ्य रहेको बताए । संसारमा एक्ला सांसदले ससदलाई नै आफनो एजेण्डामा डोर्याएका थुप्रै उदाहरण भएकाले नेपालमा पनि त्यसरी नै काम गर्न सकिनेमा शंका गर्न नहुने उनको धारणा छ ।

काठमाडौं ९ मा मतदातालाई प्रभावित पार्न पैसाको चलखल भएकोतर्फ सचेत गराउँदै उनले मतदाता निकै चलाख भएकाले यदि कसैले पैसा खाएछ भने पनि भोट चाहिँ दायाँबायाँ नहुने विश्वास व्यक्त गरे । आफूलाई हराउन पैसाको खेलोफड्को गर्नेहरु आफैँ समाप्त हुने उनको दाबी छ ।

विस्तृत भिडिओमा :