मधेसमा मधेसी दल नै संकटमा, बहसमा विखण्डनवाद र परिवारवाद

देशभर चुनावी माहोल छ । राजनीतिक दल र उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त छन् । घरदैलोदेखि ठूला आमसभाहरु चलिरहेका छन् । प्रमुख दलका शीर्ष नेताहरुदेखि लिएर दलका कार्यकर्ता प्रचारप्रसारमा निकै सक्रिय देखिन्छन् ।

चुनावमा सबै दल र उम्मेदवारहरुले आफैँले जित्ने दाबी गरिरहेका छन् । जित्ने सम्भावना भएका उम्मेदवारदेखि आफनै टोलमा नचिनिएका उम्मेदवारहरु समेत जितको दाबी गरिरहेका छन् ।

कुनै दल, संगठन, कार्यकर्ता, पहुँच, श्रोत साधन बिनाका उम्मेदवार पनि आफैले जित्ने भएकाले भोट खेर नफाल्न आग्रह गरिरहेका छन् । तर, एउटा कुरा सत्य के हो भने यसपटक चुनावमा ठूलै उथलपुथल हुने देखिन्छ ।

नेपाली राजनीतिमा रजगज गरिरहेका मधेस केन्द्रीत दलहरुलाई राष्ट्रिय दल बन्न नै समस्या छ । नागरिक अगुवा गणेशकुमार मण्डल कुनै पनि मधेसी दल राष्ट्रिय दल नहुने बताउँछन् । प्रत्यक्षमा केही सिट जिते पनि समानुपातिकमा ३ प्रतिशतको थ्रेस होल्ड पार गर्न नसक्ने उनको दाबी छ ।

जसपा, लोसपा तथा जनमत पार्टी मधेस केन्द्रीत दलहरु भए पनि यीनिहरुले मधेसको नाममा लुट मात्र मच्चाएको उनको निष्कर्ष छ । यी पार्टीका टाठाबाठाहरुले आफू, आफ्नो परिवार र आफन्तको विकास गरे पनि मधेसलाई गरिबीको चक्रव्युहबाट योजनाबद्ध रुपमै माथि आउन नदिएको मण्डल बताउँछन् ।

मुख्यतः मधेसमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई जातीयवादको आरोप छ । उनले मधेसमा यादवीकरण गरेर जातीय आतंक मच्चाएको मधेसका जानकार बताउँछन् । यतिमात्र होइन यादवले आफ्नो राजनीतिक लाभका लागि मधेसलाई नै क्षतविक्षत पारे ।

उपेन्द्र यादवले सुरुमा एक मधेस एक प्रदेशको नारा दिए तर मधेसलाई ६ टुक्रा पारे । संविधान पुनर्लेखनको मुद्दा उठाए । सरकारमा गएपछि त्यो पनि छाडे । एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीलाई नश्लीय भने तर अहिले उनैसँग चुनावी गठबन्धन गरेका छन् ।

मण्डलका अनुसार जनमत पार्टीका अध्यक्ष सिके राउत विखण्डनवादी हुन् । नेपाल राष्ट्रलाई अश्लील गालीगलौच गरेर राजनीतिमा आएका राउतले नेपालबाट मधेस टुक्र्याउने गतिविधिसमेत गरे ।

केपी ओली प्रधानमन्त्री हुँदा राष्ट्रिय मुद्दामा जनमतसंग्रह गर्ने भन्दै मुलधारमा आएका राउत अहिले पिंध बिनाको लोटा भएका छन् । अहिले उनी आफू र आफ्नो परिवारको मात्र लाभ हेरिरहेका छन् । उनी सम्पूर्ण रुपमा परिवारवादी भएका छन् । आफनो परिवार र नातागोताका मान्छेलाई अवसर दिनेबाहेक उनले केही गरेका छैनन् ।

राउतलाई वैज्ञानिक भनेर प्रचार गरेकोमा पनि मण्डलको आपत्ति छ । उनी भन्छन्, ‘वैज्ञानिक हो भने खै के आविष्कार गरेको छ ? उसको अनुसन्धान के हो ? ’

यादव र राउत अहिले सप्तरी २ मा प्रतिस्पर्धा गरिरहेका छन् । मधेसी जनताले दुवैजनाको हिसाबकिताब राम्ररी गरेकाले त्यो ठाउँमा लोसपाका जयप्रकाश ठाकुरको सम्भावना बलियो भएको आंकलन छ ।

यादव र राउत मात्र होइन यसपटक लोसपाका महन्थ ठाकुरलाई पनि उत्तिकै मुश्किल देखिन्छ । धनुषा ३ मा लोसपाका अनिल झा एमालेकी जुलीसँग भिडिरहेकाले अनिल पनि खुकुरीको धारमा छन् ।

नेसपाका महेन्द्र यादव र लोसपाका राजेन्द्र महतो आपसमा भिडिरहेका छन् । महेन्द्रभन्दा राजेन्द्र बलियो अवस्थामा भए पनि दुवै पात्र मधेसका लागि हानिकारक रहेको मण्डलको ठम्याइ छ ।

जसपा अध्यक्ष यादवले सिरहामा आफ्नै उम्मेदवार राजकिशोरलाई जिताउन मेहनत गरेको देखिदैन । यादव कांग्रेसकी चित्रलेखा यादवसंग भिडिरहेका छन् । उपेन्द्रले भित्रभित्रै चित्रलेखालाई सघाइरहेको मण्डलको दाबी छ ।

मधेसी दलहरुमाथि त्यहाँका जनताको विश्वास लगभग टुटिसकेको देखिन्छ । मधेसका माग मुद्दा भन्दै आफ्नो मात्र झोली भर्न थालेपछि जसपा, लोसपा, जनमत नामका पार्टी कमजोर भएका छन् । यसरी हेर्दा तराईंमा कांग्रेस, एमाले र माओवादीले आफ्नो पकड बढाउन थालेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१