यस पटक अत्याधिक मतले जित्छु, आगामी दिनमा कुनै पनि चुनाव लड्दिनँ : मानन्धर

काठमाडाैं । काठमाडौं-७ मा एमालेबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएका पूर्वमन्त्री रामवीर मानन्धरले आगामी कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

बिहीबार बालाजुमा पत्रकार सम्मेलन गरी नेता मानन्धरले बाँकी काम पूरा गर्नका लागि यो पटक आफू घण्टाघर चुनाव चिन्ह लिएर उम्मेदवार भएको बताउँदै आगामी दिनमा कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।

काठमाडौं-७ मा अघिल्ला दुई संसदीय निर्वाचन अत्याधिक मतसहित जितेका मानन्धरलाई यस पटक एमालेले टिकट नदिएपछि बागी उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् ।

नेता मानन्धरले आफू निर्वाचित हुने निश्चित भएसँगै एमाले र माओवादीका उम्मेदवारमा छटपटी बढेको दाबी गर्दै आफू नै जनताको साझा उम्मेदवार भएको दाबीसमेत गरे । स्थानीय तह निर्वाचनमा एमाले नेतृत्वले कांग्रेससँग जोडेर आरोप लगाएकाले आफूलाई न्याय दिनका लागि कांग्रेस कार्यकर्ताले समेत साथ दिने मानन्धरको दाबी छ ।

एमालेका इमान्दार कार्यकर्ता आफूसँगै रहेको दाबी गर्दै नेता मानन्धरले बाध्यतामा परेर एमालेका उम्मेदवारसँग भएको जस्तो गरे पनि आफूसँग निरन्तर छलफल भइरहेको बताए । कांग्रेसले स्थानीय चुनावमा आफ्नो संगठनको बलमा जित्दा पनि रामवीरमाथि एमाले नेतृत्वले आरोप लगाएर अन्याय गरेकाले न्यायका लागि साथ दिने बचन दिएको उनको दाबी छ ।

काठमाडौंलाई सभ्यता र संस्कृतिको सहर बनाउनका लागि महानगर प्रमुख बालेन साहलाई सहयोग गर्नका लागि संसदमा आफू भएमात्रै सहज हुने मानन्धरको दाबी छ । गुठी विधेयकको विरोध गरेका कारण नै आफूमाथि पार्टीले अन्याय गरेको मानन्धरको तर्क छ ।

दुई पटक वडाध्यक्ष र दुई पटक सांसद जितेका रामवीर मानन्धर सहरी विकास राज्यमन्त्री हुँदा गरेका कामका कारण चर्चामा छन् । बाइपास र दगुर्नेपानीमा वर्षौंदेखि रोकिएको सडक विस्तार गरेर उत्तरी क्षेत्रको आवागमन सहज बनाउनु भुमिका खेलेका मानन्धरले यो क्षेत्रको सडक र पूर्वाधार निर्माणमा बाँकी रहेका काम पूरा गर्न जनताको बलमा उम्मेदवार भएकाले आफू जित्ने निश्चित भएको दाबी समेत गरेका छन् ।

मानन्धरले माओवादी र एमालेले प्रतिष्ठाको क्षेत्र बनाएको काठमाडौं-७ बाट विजयी भएर आफूले नयाँ इतिहास रच्ने दाबी पनि गरेका छन् । अरु उम्मेदवारले घरदैलोमा हिड्ने कार्यकर्ता समेत भेट्टाउन नसकेको तर आफू नियमित रुपमा हजारौँ मतदातासँग संवादमा रहेको उनको भनाइ छ ।