• २०८३ असार ४
  • 2026 June 18, Thursday

निर्वाचनको तयारी पूरा, निर्धक्क भएर मतदान गर्नुहोस् : प्रमुख निर्वाचन आयुक्त

काठमाडाैं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले बताएको छ ।

शनिबार आयोग परिसरमा आयोजित व्रिफिङ कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको बताएका हुन् ।

‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ’, थपलियाले भने ।

उनले सबैलाई मतधिकार प्रयोग गर्न पनि आग्रह गरेका छन् ।

‘आयोगबाट स्वीकृत मापदण्डबमोजिम निर्वाचनको स्वच्छता र स्वतन्त्रतामा प्रतिकूल असर नपर्ने गरी यातायातको व्यवस्थित सञ्चालन तथा सवारी आवागमनको उपयुक्त प्रबन्ध मिलाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारी तथा अन्य तोकएका अधिकारीलाई निर्देशन दिइसकिएको छ’, थपलियाले भने ।

मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाइ मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्नेलाई कानून बमोजिम कारबाही गर्न उनले मतदान अधिकृतहरूलाई निर्देशन दिएका छन् ।

मतदान केन्द्रमा वादविवाद, हुलहुज्जत वा असामान्य परिस्थिति सिर्जना गर्ने वा गराउन खोज्ने, मतपत्रको दुरूपयोग गर्ने, मतदानको अधिकारविना मतदान गर्ने, पटक पटक मतदान गर्न खोज्ने, मत संकेत सार्वजनिक गर्ने, मतदातासँग अर्को कुनै अनाधिकृत व्यक्ति मतदान कक्षमा जाने तथा मतदान अधिकृतले निषेध गरेको कुनै कार्य गर्न खोज्ने जो कोहीलाई कानुनबमोजिम कारवाही गरी मतदाताको स्वच्छता र स्वतन्त्रता कायम गर्न मतदान अधिकृत तथा निर्वाचनको काममा खटिएका कर्मचारी, सुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक एवं निर्वाचन प्रतिनिधि समेतलाई आवश्यक निर्देशन दिइएको उनले बताए ।