पैसा उठाएर काठमाडाैं–१ मा विकास गर्छु भन्ने रविन्द्र मिश्रलाई किरण पाैडेलले भने ‘नो’

काठमाडौं । काठमाडाैं १ मा काेष स्थापना गरेर विकास गर्छु भन्ने रविन्द्र मिश्रलाई किरण पाैडेलले यस्ता याेजना स्थगित गर्न आग्रह गरेका छन् ।

मंगलबार निर्वाचन हारेपछि रविन्द्र मिश्रले एक बक्तव्य जारी गरेर काठमाडौँ क्षेत्र नं एकका मतदाताप्रति आभार प्रकट गर्न काेष स्थापना गर्ने बताएका थिए ।

उनले भनेका थिए, ‘मैले मेरा पछिल्ला दुई पुस्तक (विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाज) बाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर रू २५ लाखको ‘सीड मनि (बीज पैसा)’ बाट ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ स्थापना गर्ने निर्णय गरेको छु ।’

उनकाे याे निर्णयकाे विराेधमा पाैडेलले भनेका छन्,’काठमाडौं–१ का लागि भनेर कोष स्थापना र संकलन गर्नु जस्तोसुकै सही सोच भएपनि ठीक कदम हैन, म तत्काल यस्लाई अन्यत्र मोड्न या स्थगित गर्न आग्रह गर्छु ।’

अगाडि उनले भनेका छन्, ‘एउटा राजनीतिक दलका कुनै पात्रले आफ्नो निर्वाचन क्षेत्रका लागि भनेर अझ विशेष गरी अन्तराष्ट्रिय दाताहरु लक्षित गरी कोष स्थापना गर्नु सरासर गलत हो । पारदर्शिता लगायतका केही विषय त छँदै छन् त्यो भन्दा मुख्य स्वाभिमान हो ।’

उनले अरबौँ रकम वातावरण क्षेत्रमा, पूर्वाधार विकासका क्षेत्रमा, कला संस्कृति तथा सम्पदा क्षेत्रमा, पूर्वाधार तथा शहरी विकासलगायतमा समयमा खर्च हुन नसक्दा फ्रिज हुन्छन्, रकमान्तरण हुन्छन् त्यता तिर ध्यान दिन सुझाव पनि दिएका छन् ।

उनले याे क्षेत्रको लागि अन्तर्राष्ट्रिय जगतसम्म पुग्ने कुनै पनि किसिमको ‘फन्ड रेज’को अभियान तत्काल खारेज गर्न पनि आग्रह गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१