
क्वालालाम्पुर। मलेसियाको सेरेम्वान शहरमा दुईजना नेपाली अनुहारमा हथौडाले हानेर मारिएको अवस्थामा फेला परेका छन् ।
ओकल्याण्ड कमर्सियल सेन्टर नजिक भएको सो घटनामा घटनास्थलमै एकजना नेपाली पनि पक्राउ परेका छन् । घटना डिसेम्बर ३ तारिकको हो । साँझ ६ बजेर ४५ मिनेटमा सो घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी दिएपछि सेरेम्बान प्रहरी घटनास्थल पुगेको थियो ।
घटनास्थलमा तीनजना नेपालीमध्ये दुईजना हथौडाले प्रहार गरी अनुहार कुच्चिएर मृत भइसकेको र एकजना सकुशल पाइएका थिए । तिनै सकुशल पाइएका एक नेपालीलाई घटनास्थलमा भएको हथौडासहित प्रहरीले पक्राउ गरेको छ ।
मृतक तथा अभियुक्त भनिएका तीनजना नै नेपाली भएको खुलाए पनि प्रहरीले उनीहरुको नाम सार्वजानिक गरेको छैन । प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यम द स्टारले दुई मृतहरु सुरक्षा गार्डका रुपमा कार्यरत रहेको र उनीहरुको उमेर एउटाको ३५ र अर्काको ४६ रहेको उल्लेख गरेको छ।
सो अखबारले घटनास्थलमै पक्राउ परेका नेपाली व्यक्तिको तस्वीर पनि सार्वजानिक गरेको छ । पक्राउ परेका व्यक्तिले मादक पदार्थ सेवन गरेको पनि बताइएकाे छ ।
तस्बिर : द स्टार