• २०८३ जेठ २२
  • 2026 June 05, Friday

१९ वर्ष २ महिनापछि थुनामुक्त चार्ल्स शाेभराज, यस्ताे छ उनकाे अपराधकाे शृंखला

काठमाडौं । सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज नेपाली जेलमा १९ वर्ष दुई महिना बिताएर थुनामुक्त भएका छन् ।

बिहीबार उनलाई केन्द्रीय कारागार, सुन्धाराले थुनामुक्त गरेर अध्यागमन विभाग लगेको छ । अब विभागले उनलाई डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउनेछ ।

तर, शोभराजले केही समय नेपालमै बस्ने इच्छा व्यक्त गरेका छन् ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले उमेर र स्वास्थ्य स्थिति कारण देखाएर उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

कारागार नियमावली, २०२० को नियम २९ (२ क) ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परी निको हुन नसक्ने अवस्थामा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था गरेको छ ।

दुई अमेरिकी पर्यटकको हत्याको अभियोगमा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि शोभराजलाई सुन्धारा कारागारको गोलघरभित्र राखिएको थियो । शोभराज २०६० सालमा काठमाडौंको दरबारमार्गबाट पक्राउ परेका थिए ।

७८ वर्षअघि ६ अप्रिल १९४४ मा भियतनामको साइगनमा भारतीय बुबा र भियतनामी आमाबाट चार्ल्सको जन्म भयो । तर, उनका बुबाले चार्ल्सलाई छोरो स्वीकार गरेनन् । फ्रान्सेली उपनिवेश भियतनाममा जन्मिएका उनले फ्रान्सेली नागरिकता लिए । उनी विभिन्न देश घुम्म थाले ।

सुरुवाती दिनहरूमा चार्ल्समाथि फ्रान्समै विभिन्न खाले सनातिना अपराध गरेको रिपोर्ट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा प्रकाशित छन् । तर, सिरियल किलर भने सन् १९६३ मा एसियाका देशहरूमा घुम्म निस्केपछि बनेका हुन् ।

शोभराजको निशानामा आफूजस्तै घुम्न आएका पर्यटक र युवती हुने गर्थे । शोभराजमाथि नेपालबाहेक थाइल्यान्ड, भारत, टर्की र इरानमा गरी २० भन्दा बढी हत्याको आरोप छ । नेपालबाहेकका जेलबाट भने शोभराज जेल तोडेर भागेका हुन् ।

यसअघि फ्रान्सेली पर्यटकलाई विष खुवाएर हत्या गरेको अभियोगमा भारतको तिहाड जेलसमेत बसेका थिए । त्यहाबाट पनि उनी भाग्न सफल भएका थिए ।

नेपाल आउनुअघि उनी थाइल्यान्डमा पक्राउ परेकाे भए उनलाई मृत्युदण्ड भइसकेको हुन्थ्यो । थाइल्यान्डमा उनीमाथि पाँचवटा व्यक्तिहत्याको आरोप छ ।