तमिलनाडुमा तीर्थयात्रु बोकेको गाडी खाडलमा खस्दा ८ जनाको मृत्यु

तमिलनाडुको थेनी जिल्लामा श्रद्धालु सवार कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने नौ वर्षीय बालकसहित दुई जना घाइते भएका छन् । कार सडकबाट करिब ४० फिट तल खस्दा सो दुर्घटना भएको हो ।

अन्दिपट्टी नजिकैको सन्मुगासुन्दरपुरम गाउँका दश अयप्पा भक्तहरु सबरीमालाको दर्शन गरेर घर फर्कँदै गर्दा शुक्रबार बेलुका उनीहरूको कार दुर्घटनामा परेको थियो। उनीहरू कुमुली पहाडी सडक इराइचलपलम नजिक पुग्दा सो कार खाडलमा खसेको थियो ।

‘थेनी जिल्लाको कुमुली पहाडको भञ्ज्याङमा सो कार ४० फिट गहिरो खाडलमा खस्दा आठ श्रद्धालुको मृत्यु भएको छ,’ थेनीका जिल्ला कलेक्टर केभी मुरलीधरनले बताएका छन् । उनले दुई जनालाई उद्धार गरी अस्पताल लगिएको पनि बताएका छन् ।

उद्धार गरिएका दुई जनामा ९ वर्षीय बालक समेत रहेका छन् । गम्भीर घाइते भएका उनीहरूलाई नजिकैको सरकारी अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । दुर्घटनाबारे अनुसन्धान जारी छ । एजेन्सी

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१