प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउने ओलीकाे प्रतिबद्धता

काठमाडौं । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सांसदहरूको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले सफल सरकार बनाउन उपयुक्त ढंगले गाइड गर्ने बताएका हुन् ।

‘हाम्रो कर्तव्य यो सरकारलाई सफल बनाउने हो । सफल सरकार बनाउँछौँ र त्यसका लागि उपयुक्त ढंगले गाइड गर्छौँ । यो सरकारले सही नीति लेओस्, भ्रष्टाचार नगरोस् र नहोस् । यसले सुशासन र विकासको लागि उचित र आवश्यक कदमहरू चालोस्’ उनले भने ।

ओलीले पुस २६ गते सरकारले विश्वासको मत प्राप्त गर्ने र यो सरकारले विश्वासको मत पाएपछि कांग्रेस पाँचै वर्ष प्रतिपक्षमा रहेर विरोध गर्ने बताए ।

कांग्रेसले विगतमा जस्तै फेरि पनि च्याँखे थाप्न सक्ने भन्दै ओलीले विभिन्न दलका नेतालाई प्रधानमन्त्रीको अफर गर्नुको संवैधानिक औचित्य नै नरहेको बताए ।

राप्रपालाई कांग्रेसले प्रधानमन्त्री अफर गरेको हल्लाका सन्दर्भमा ओलीले भने– राजनीति बुझ्नेले यो संविधानको कुनै धारामा सम्भव छैन भन्ने बुझेका छन् । हामीलाई त थाङ्नामा सुताउन खोज्ने कांग्रेसले अरूलाई नगर्ला भन्न सकिन्न । हामीलाई नै अस्ति ५ बजेसम्म पर्खाएर धारा ७६ (३) को सरकार बनाउन खोज्दै थियो,हामीले असफल बनाएको हो ।

ओलीले यो सरकार र संसद्लाई सफल बनाउने एमालेले राजनीतिक नेतृत्व गर्ने बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१