
काठमाडौं । बृहत वाम एकता गर्ने भन्दै नेकपा माओवादी केन्द्रले एकता गर्नका लागि वार्ता गर्ने पार्टीहरुको सूची तयार पारेको छ ।
बृहत वाम एकताको लागि भन्दै गठन गरिएको वार्ता टोलीको पहिलो बैठकले एकताका लागि वार्ता गर्ने पार्टीहरुको सूची तयार गरेको उपाध्यक्ष एवम् वार्ता टोलीका संयोजक कृष्णबहादुर महराले बताए ।
वार्ता टोलीका अन्य सदस्यहरुमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जर्नादन शर्मा र शक्ति बस्नेत छन् ।
एकताका लागि पहिलो प्राथमिकता बाबुराम भट्टराई र माधव नेपालको पार्टीलाई राखेको छ ।
भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले चुनावपछि एकता गर्ने सहमतिसहित माओवादी केन्द्रको चिह्नमा चुनाव लडेको थियो । भट्टराईले समाजवादी केन्द्र बनाउनुपर्ने बताउँदै आएका छन् । आइतबारदेखि सुरु भएको नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठकले एकताबारे निर्णय लिने नेताहरुले बताएका छन् ।
चुनवाअघि नै माओवादी र एकीकृत समाजवादीबीच एकताको चर्चा चलेको थियो । माओवादीसँग एकताका लागि भन्दै एकीकृत समाजवादीले अध्यक्ष नेपालको नेतृत्वमा समिति नै बनाएको थियो । चुनाव सकिएपछि पनि उसले वाम एकताको कुरा उठाएको छ । त्यसका लागि महासचिव बेदुराम भुसालको नेतृत्वमा समिति बनाएको छ ।
नेपाल समाजवादी पार्टीसँग एकता हुने निश्चित जस्तै रहेको माओवादीका नेताहरु बताउँछन् । एकीकृत समाजवादी पार्टीसँग नै एकता सम्भव नभएको खण्डमा त्यहाँको एउटा समूहसँग भए पनि एकता हुने विश्वास माओवादीका नेताहरुको छ ।
त्यस्तै प्रभु साहसँग पनि वार्ताका लागि छलफल हुने माओवादी नेताहरुले बताएका छन् । साहले हालै आम जनता पार्टी खोलेका छन् । एमालेसँग जान नसक्ने भएकाले साह समेत माओवादीमै आउने नेताहरुको भनाइ छ ।
उपमहासचिव पोखरेलले संसद बाहिर रहेका शक्तिहरुसँग पनि एकताका लागि वार्ता टोलीले छलफल गर्ने बताए । माओवादीबाट छुट्टिएका नेत्रविक्रम चन्द्र, धर्मेन्द्र बास्तोला, मोहन वैद्य लगायतका पार्टी संसद बाहिर छन् । उनीहरुसँग समेत एकताको पहल गरेर शक्ति हासिल गर्ने माओवादी नीति देखिन्छ ।