
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने चितवन महोत्सवमा सहभागि हुन चितवन प्रस्थान गरेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री भएपछि पहिलोपटक चितवन जान लागेका हुन् ।
चितवन महोत्सव २०७९ अन्तर्गत नै फुडफेस्टिभलको समेत उद्घाटन गरिने उद्योग वाणिज्य संघ चितवनले जनाएको छ ।
उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष एवं महोत्सव प्रवर्द्धन समिति संयोजक राजेन्द्र ओलीले बिहीबार साँझ ६ बजे फुड फेस्टिभलको उद्घाटन गरिने जानकारी दिए ।
चितवन महोत्सवको अवसरमा हुँदै आएको फुड फेस्टिबल यस पटक पनि नारायणगढको क्याम्पाचौरमा आयोजना हुँदैछ ।
गृहमन्त्री लामिछाने आज चितवन महोत्सव परिसरभित्र रहेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को अवलोकन गर्ने कार्यक्रम रहेको छ । गृहमन्त्री लामिछानेले यसअघि नै आफूले स्वदेशमा उत्पादन भएका कपडा मात्रै लगाउने प्रतिबद्धता जनाएका थिए ।
महोत्सवमा आज विविध कार्यक्रमहरु हुँदै छन् । विसं २०५३ देखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सवमा यस पटक मौरी र तोरी खेतीको प्रवर्द्धन गर्ने गरी तोरीबारीमा मौरीको मस्कट राखिएको छ ।