काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपाल र नेकपा एकीकृत समाजवादीबीच संयुक्त बैठक बस्दै छ । बैठकमा एकताको विषयमा दुई पक्षका कार्यदलबीच छलफल हुने नेता प्रकाश ज्वालाले जानकारी दिए ।
नेकपा एकीकृत समाजवादीले महासचिव वेदुराम भुसालसहित नेताहरु डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेको कार्यदल बनाएको थियो । यस्तै जसपाले पनि नेताहरू राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी रहेको कार्यदल बनाएको छ ।
नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो । उपेन्द्र यादव नेतृत्वको जसपाका १२ सांसद छन् । गत मंसिर ४ मा भएको निर्वाचनमा एकीकृत समाजवादीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १० सिट जिते पनि थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन । जसपाले पार्टीले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ सिट जितेको थियो ।
एकीकृत समाजवादी र जसपाबीच पार्टी एकता भए सो पार्टीका २२ सांसद पुग्नेछन् । उक्त पार्टी संसदमा चौथो ठूलो दल बन्ने छ । हाल २० सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल छ ।