प्रदेश १ मा माओवादीका दुई र एमालेका एक गरी थप तीन मन्त्री नियुक्त

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले शुक्रबार माओवादी केन्द्रका २ र एमालेका १ गरी थप तीन जना मन्त्री नियुक्त गरेका हुन्।

माओवादीबाट मोरङ ६(१) बाट निर्वाचित जीवन आचार्य र तेह्रथुम १(२) बाट निर्वाचित दुर्गाप्रसाद चापागाईं तथा एमालेबाट सोलुखुम्बु १९२० बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित बुद्धिकुमार राजभण्डारी मन्त्री भएका हुन्।

उनीहरूले केहीबेरमा पद तथ गोपिनयताको शपथ लिनेछन्। यसअघि गत सोमबार प्रदेश १ मा मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। यो सँगै प्रदेश १ मा ७ सदस्यीय मन्त्रिपरिषद् भएको छ।

यसैबीच मुख्यमन्त्री कार्कीले आजै प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन्।

९३ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ सहित मुख्यमन्त्री कार्कीलाई समर्थन गर्नेको संख्या ६० छ। प्रतिपक्षमा नेपाली कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१