नेविसंघ र तरूण दलप्रति देउवाको चासो, भ्रातृ संस्थालाई पूर्णता दिने तयारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज नेविसंघ अध्यक्ष दुजाङ शेर्पा र तरूण दल अध्यक्ष विद्वान गुरूङसँग छलफल गरेका हुन्।
पार्टीका दुई भ्रातृ संस्थालाई पूर्णता दिने तयारीका लागि छलफल भएको बताइएको छ ।

स्ववियु चुनावको मिति तोकिएकोले नेविसंघ केन्द्रीय समितिलाई पूर्णता दिन लागिएको हो। चैत ५ मा स्ववियु चुनाव गर्ने त्रिविको तयारी छ।

तरूण दल र नेविसंघमा सभापति देउवाले यसअघि अध्यक्ष मात्रै तोकेका थिए। भ्रातृ संस्थालाई पूर्णता दिन कांग्रेसले सभापति देउवालाई जिम्मेवारी दिएको लामो समय भइसकेको छ।

कांग्रेसले अधिकांश भ्रातृ संस्थाको समयमै महाधिवेशन गर्न सकेको छैन। त्यसैले केही भ्रातृ संस्थामा भने अध्यक्ष मात्रै तोकिएको छ।

निर्वाचन परिणाम आएको तीन महिनाभित्र नेविसंघ र तरूण दल महाधिवेशन गर्ने भनिए पनि स्ववियु चुनावलगायतले गर्दा महाधिवेशन फेरि अनिश्चित हुने देखिएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१