
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिना अर्थात मंसिरसम्म नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मंसिर मसान्तसम्म सार्वजनिक ऋण आन्तरिक र वाह्य गरी उक्त रकम बराबर पुगेको हो । यो असार मसान्त अर्थात् अघिल्लो आर्थिक वर्ष २०७८/७९ को (गत असारसम्मको) तुलनामा भने ७ अर्ब रुपैयाँ कम हो ।
असार मसान्तसम्म सार्वजनिक ऋण २० खर्ब १३ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । मंसिरसम्मको तथ्यांक अनुसार नेपालको सार्वजनिक ऋण प्रतिव्यक्तिमा भाग लगाउने हो भने ६८ हजार ७५५ रुपैयाँ पर्न आउँछ । यो कुल सार्वजनिक ऋणलाई २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसारको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० ले भाग गर्दा आएको नतिजा हो ।
गत असारभन्दा मंसिरमा सार्वजनिक ऋण कम हुनुमा पहिलो चौमासिकमा सरकारले गरेको सावाँरब्याज भुक्तानी तथा थप चालु आर्थिक वर्षमा लक्ष्यअनुसार ऋण प्राप्ति भइनक्नु कारण हो । सरकारले चालु आवमा १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।