
काठमाडाैं । उपत्यकाका तीन ठाउँमा बर्डफ्लू पुष्टि भएको छ ।
काठमाडाैंकाे नागार्जुन नगरपालिका वडा नम्बर ६ र तारकेश्वर नगरपालिका वडा नम्बर ७ तथा ललितपुरको खुमलटारमा बर्डफ्लू देखिएको पशु सेवा विभागले जनाएकाे हाे ।
कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म तथा रामकोट र तारकेश्वरको निजी फार्ममा कुखुरा र टर्की मर्न थालेपछि नमूना परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिए ।
ती सबै फार्मका पक्षी तथा पक्षीजन्य वस्तु नष्ट गरिएको छ । खुमलटारमा २ सय १७ वटा कुखुरा, २ हजार ५ सय ३० वटा अन्डा र २ सय ५० किलो दाना नष्ट गरिएकाे हाे ।
यस्तै, तारकेश्वरमा ९ सय ४० वटा कुखुरा र एक सय किलो दाना तथा रामकोटमा चार हजार ५ सय ९१ वटा कुखुरा र २ हजार २ सय ५५ वटा अन्डा नष्ट गरिएको छ ।