कुशलको आक्रामक अर्धशतक

काठमाडौं । युवा अलराउन्डर कुशल मल्लले नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् । कुशल मल्लले ४२ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो अर्धशतक पूरा गरेका हुन् । कुशल ४२ बलमा ६ चौका र ३ छक्कासहित ५२ रनमा अविजित छन् ।

टियु क्रिकेट मैदानमा २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा ५ विकेट गुमाउँदै १ सय २५ रन बनाएको छ । २०२० मा कुशलले यसअघि डेब्यू खेलमा अमेरिकाविरुद्ध टियु क्रिकेट मैदानमै अर्धशतक प्रहार गरेका थिए । कुशलको यो पूनरागमन सिरिज समेत हो । कुशल मल्लले ब्यक्तिगत ६ रनमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर ब्रेन्डन म्याकुमेलनको बलमा आठौं ओभरको चौथो बलमा कुशल मल्ल कट एण्ड बोल्ड आउट हुनबाट चुकेका थिए ।

दीपेन्द्रसिंह ऐरी २० रनमा क्रिजमा छन् । नेपालले तेस्रो ओभरमा कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल दुबैलाई गुमाएपछि लगातार खराब प्रदर्शन गरेको थियो । तीव्र गतिका बलर क्रिस सोलको तेस्रो ओभरको पहिलो बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर म्याथ्यु क्रसबाट १६ रनमा क्याच आउट भएका थिए ।

कुशल भुर्तेलले ८ बलमा ४ चौका हाने । ज्ञानेन्द्र मल्लले चौका हान्दै सुरुवात गरेका थिए । चौथो बलमा ज्ञानेन्द्र एज लागेर क्रसबाटै क्याच आउट भए । त्यसअघि इनिङको पहिलो ओभरमै सोलले २३ रन खर्चेका थिए । तेस्रो ओभरमा भने उनले खेल मोडेका थिए । पाँचौं ओभरमा आसिफ शेखलाई उनले ९ रनमा क्याच आउट गराए ।

कप्तान रोहित पौडेल ६ रनमा क्याच आउट भए । स्पिनर मार्क वाटको बलमा कट खेल्नेक्रममा रोहित प्वाइन्टमा ज्याक जार्विसबाट क्याच आउट हुन पुगेका थिए । सन्दीप जोरा ५ रनमा मार्क वाटको बलमा एलबीडब्लू आउट हुँदा नेपाल १०/५ ओभरमा ७७/५ को अवस्थामा पुगेको थियो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको थियो। माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १ सय ७ रनको सानदार अविजित शतकीय इनिङ खेले । उनको यो करिअरको कुनैपनि संरचनाको पहिलो शतक हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१