मकवानपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६, रामडाँडामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

शुक्रबार बिहान ६ बजे चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको गा १५ प ३९६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको हो।

स्कुटरलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। सवारी चालक अनुमतिपत्रका आधारमा मृतक स्कुटर चालक कास्की जिल्लाको पोखरा महानगरपालिकाकी ३८ वर्षीया अमृता परियार भएको जिल्ला प्रहरी कार्यायल मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

त्यसैगरी पोस्टमार्टमका लागि शव हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१