
काठमाडौं । पोखरामा आइतबार भएको बस दुर्घटना हुनुको कारण खुलेको छ । चालकको लापरबाहीले बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
पोखरा विश्वविद्यालयबाट बागलुङ बसपार्क जाँदै गर्दा ग १ ख ६७४७ नम्बरको यात्रुबाहक बस फागुन ७ गते (आइतबार) दिउँसो पोखरा २७ डाँडाकोनाकमा दुर्घटना भएको थियो । बस सडकबाट २५ मिटर तल खोल्सामा खसेको हो ।
बसमा सवार ५३ जना दुर्घटनामा घाइते भएका थिए । दुर्घटनाका सबै घाइतेको अवस्था सामान्य छ र १६ जना सामान्य उपचारपछि घर फर्किसकेका छन् ।
उनीहरुको उपचार भईरहेको छ । प्रारम्भिक अनुसन्धानमा चालक चलाउन नसक्ने अवस्थामा रहेको देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीका वरिष्ठ सई शिवप्रसाद पाठकले बताएका छन् । पाठकले भने्, ‘गाडीको स्पिड थिएन त्यही भएकाले ब्रेक हानेको डाम पनि देखिएन । चालककै लापरबाही देखिएको छ ।’
यात्रु सचिन केसी, जो केबिनमा बसेका थिए उनले बस चलाउँदा–चलाउँदै चालक निदाएको बताएका छन् । रक्सी खाएको गन्ध आएको र भोला खाइरहेको उनले बताएका छन् । उनले भने, ‘एकछिनपछि ऊ सुत्यो। सुतेपछि एक जना चिच्याए । ऊ चिच्याउँदै दाइ के गरेको, किन सुतेको भन्यो । त्यति भन्न नपाउँदै गाडी पल्टियो ।’
प्रहरीले बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।