
काठमाडौं । संसद् भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यबारे छानबिन गर्न सरकारले गठन गरेको समितिले प्रतिवेदनको खाका तयार पारेको छ । आचार्यले पुँजी क्षमताले बेहोर्न सक्नेभन्दा बढी क्षेत्रमा लगानी गरेका कारण समस्यामा परेको छानबिनले देखाएको छ ।
माघ १० गते नयाँ बानेश्वरको व्यस्त सडकमा आत्मदाह गरेका आचार्यको उपचारका क्रममा भोलिपल्ट मृत्यु भएको थियो ।
उनले फेसबुक स्ट्याटसमा उठाएका प्रश्न र सरकारले सुधार गर्नुपर्ने कानुन विषयमा सुझाव दिन माघ ११ गते छानबिन समिति बनेको थियो ।
विभिन्न व्यवसायमा बेहोरेको घाटाले तनावको उत्कर्षमा पुग्दा आचार्यले आत्मदाह गरेको छानबिनमा देखिएको छ । नैराश्यताका कारण उनी आत्मदाह गर्ने निर्णयमा पुगेको छानबिन समिति संयोजक नारायणप्रसाद रिसालले बताए ।
निरन्तर एकपछि अर्को व्यवसाय परिवर्तन गरिरहँदा लगानी फसेको समितिको निर्क्योल छ । छानबिनबाट आचार्यले व्यापारका क्रममा ठूलो रकम कुनै व्यक्ति वा संस्थाबाट भुक्तानी लिनुपर्ने नदेखिएको समितिका सदस्यहरूको भनाइ छ ।
उधारो कारोबार व्यवस्थित गर्नुपर्ने, करदाता शिक्षामा जोड दिने र करदाता मैत्री सूचना प्रणालीको विकास गर्नुपर्ने लगायत सुझाव प्रतिवेदनमा समेटिएको छ ।
गृह मन्त्रालयका सहसचिव नारायण रिसाल नेतृत्वमा आठ सदस्यीय छानबिन समिति बनेको हो । समितिमा अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति, श्रम, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू सदस्य छन् ।