एमाले सचिवालय बैठक आज बस्दै, परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण रोकेकोबारे छलफल हुने

काठमाडौं । नेकपा एमालेले सोमबार सचिवालय बैठक बोलाएको छ । आज बिहान ११ बजेका लागि सचिवालय बैठक बस्ने महासचिव शंकर पोखरेलले जानकारी दिए।

उनकाअनुसार परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आदेशमा रोकिएकोबारे सचिवालय बैठकमा छलफल हुनेछ ।

प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण अन्तिम समयमा रोकेका थिए । उनी आइतबार साँझ त्यसतर्फ जाने तयारीमा थिइन्। तर प्रधानमन्त्रीको आदेशपछि उनी त्यसतर्फ गइनन् ।

एमालेले समसामयिक राजनीतिक घटनाक्रमबारे पनि सचिवालय बैठकमा छलफल गर्ने भएको छ । पार्टी कार्यालयका सचिव भिष्म अधिकारीले राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि सचिवालय बैठकमा छलफल हुने जानकारी दिए ।