विषादी परीक्षणको प्रस्ताव स्वत: फिर्ता भएको हो, नयाँ प्रस्ताव बनिरहेकाे छ : कृषि मन्त्रालय

काठमाडाैं । भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्नेसम्बन्धी प्रस्तावउपर वर्तमान सरकार गठनपछि कुनै अतिरिक्त निर्णय नभएको दाबी सरकारले गरेको छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयले बुधवार विज्ञप्ति जारी गरी २०७९ भदौ २१ गते मन्त्रिपरिषदमा पेश भई आर्थिक तथा पूर्वाधार समितिमा विचाराधीन प्रस्ताव नयाँ सरकार गठन भएपछि स्वत: फिर्ता भएको र त्यसमा कुनै अतिरिक्त निर्णय नगरिएको प्रस्ट पारेको हो ।

‘मन्त्रिपरिषद्को मिति २०७९/०५/२१ को निर्णयानुसार उक्त प्रस्ताव मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा छलफलका लागि पठाइएकोमा समितिमा छलफलको प्रक्रियामा विचाराधीन रहँदा नयाँ सरकार गठन भएपछि मन्त्रिपरिषद् वा मन्त्रिपरिषद् समितिमा विचाराधीन रहेका सबै प्रस्तावहरू फिर्ता हुने क्रममा मन्त्रिपरिषद्को मिति २०७९/०९/११ को पहिलो बैठकको निर्णयअनुसार उक्त प्रस्ताव समेत स्वतः फिर्ता भएको (हो),’ मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल नयाँ प्रस्ताव तयार पारी मन्त्रिपरिषद्‍मा पेश गर्न निर्देशन दिएको र सोहीअनुसार नयाँ प्रस्ताव पनि तयार भइरहेको मन्त्रालयले जनाएको छ ।