
काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत यूएईमा जारी त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली यूएईसँग ६८ रनको हार ब्यहोरेको छ ।
२ सय ८ रनको लक्ष्य पाएको नेपालले कमजोर ब्याटिङ गरेकाे थियाे । नेपालले ३१.५ ओभरमा १ सय ३९ रन जोड्दा सबै विकेट गुमाएको हो ।
नेपालका शीर्ष ६ मध्ये तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् । कप्तान रोहित पौडेल, ज्ञानेन्द्र मल्ल र आरिफ शेख शुन्यमा आउट भए ।
कुशल मल्लले सर्वाधिक ६० रन जोडे । विकेटकिपर आसिफ शेखले १७ रन बनाए । कुशल भुर्तेलले ५, दीपेन्द्रसिंह ऐरीले ७ तथा गुल्सन झा र सोमपाल कामीले ४/४ रन जोडे । सन्दीप लामिछाने २६ रनमा अविजित रहे ।
बलिङतर्फ यूएईका स्पीनर रोहन मुस्ताफा र कार्थिक मैयाप्पनले तीन तीन विकेट लिए । जुनैद सिद्धिकीको नाममा दुई विकेट रह्यो ।
नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार पाँच जितपछि पहिलो हार ब्यहोरेको हो ।
विश्वकप लिग-२ को अंक तालिकामा नेपाल ३० खेलबाट २८ अंकसहित छैटौँ स्थानमा छ । पाचौँ स्थानमा रहेको यूएईको ३० खेलबाट ३१ अंक छ ।