• २०८३ जेठ २२
  • 2026 June 05, Friday

लियोनल मेस्सीलाई आक्रमणको धम्की, ससुरालीको सुपरमार्केटमा अन्धाधुन्ध गोली प्रहार

काठमाडौं । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुराली स्वामित्वमा रहेको सुपरमार्केटमा अन्धाधुन्ध गोली प्रहार गरेका छन् ।

मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा रहेको रोसारियोकोस्थित युनिको सुपरमार्केटमा बिहीबार एउटा समूहले गोली प्रहारसहित मेस्सीलाई आक्रमणको धम्की दिँदै लिखित सन्देश छाडेका छन् । राजधानी ब्युनस आयर्सबाट ३ सय किलोमिटर उत्तरपश्चिममा रहेको रोसारियो अर्जेन्टिनाको तेस्रो ठूलो शहर हो ।

रोजारियोका शहरका प्रमुख पाब्लो जाभकिनले आक्रमण गरिएको पसलको अवलोकन गरेर लागुऔषधसम्बन्धी हिंसामा भएको वृद्धिलाई रोक्न असफल भएको भन्दै संघीय अधिकारीहरूको आलोचना गरेका छन् ।

मेस्सी अर्जेन्टिनामा महान फुटबलरका रुपमा सम्मानित छन् । उनको नेतृत्वमा अर्जेन्टिनी राष्ट्रिय टोलीले गत डिसेम्बरमा विश्वकप प्रतियोगिता जितेपछि उनीप्रतिको सम्मान अझ बढेको छ ।

मेस्सी हाल फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट–जर्मेनबाट खेलिरहेका छन् । मेस्सी पनि रोसारियो कै हुन् । फ्युनेस उपनगरमा उनको घर छ । तर, धेरैजसो समय मेस्सीले विदेशमै विताउँछन् ।

रोजारियोका अभियोजक फेडेरिको रेबोलाले सुरक्षा क्यामेरा फुटेजको समीक्षा सुरक्षा अधिकारीहरूले गरिरहेका तथा प्रारम्भिक अनुसन्धान प्रारम्भ भएको बताएका छन् । मेस्सीका ससुरालीले यस प्रकारको धम्की पहिलोपटक पाएको बताएका छन् ।