• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सन्दीपको उत्कृष्ट ब्याटिङ, पीएनजीमाथि नेपालको जित

काठमाडाैं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि जित निकालेको छ ।

शुक्रबार भएको खेलमा नेपालले पीएनजीलाई ३ विकेटले हराएको हो ।

बई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर १८२ रन बनायो ।

नेपालका लागि आसिफ शेखले नट आउट ८६ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै, नेपालका लागि सन्दीप लामिछानेले करियरकै उत्कृष्ट ब्याटिङ गरे । उनले ५० बल खेल्दै ३ चौकाको सहयोगमा ३५ रन बनाए ।

सन्दीपले एकदिवसीय क्रिकेटमा पहिलो पटक ३५ रन बनाए ।

नेपालका लागि कुशल मल्लले २३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पीएनजीका लागि असाड भालले तीन विकेट लिए । त्यस्तैऽ सेमो कामेअ र सेसे बाउले दुई–दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरको पीएनजीले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाएर १७९ रन बनाएको थियो ।

पीएनजीका लागि टोनी उराले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै हिरी हिरीले ३१ रन बनाउँदा प्लिन दोरीगाले २६ रनको योगदान गरे ।

नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह एरीले दुई–दुई विकेट लिए । त्यस्तै करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले एक–एक विकेट लिए ।

जितपछि लिग–२ मा नेपाल ३१ खेलबाट ३० अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ । पीएनजी ३१ खेलमा ७ अंक जोडेर तालिकाको सातौं स्थानमा छ ।