राजतन्त्र–जिन्दावाद नभन्‍नू : दुर्गा प्रसाईं

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले ‘राजतन्त्र–जिन्दावाद’ नभन्न आग्रह गरेका छन्।

राजतन्त्र पुनस्थापना गर्ने भन्दै शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट आन्दोलनको शुभारम्भ गरेका उनले पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरेका हुन्।

यसअघि उनका समर्थकहरूले राजा आऊ, देश बचाऊलगायत नाराबाजी लगाउँदै प्रदर्शन गरिरहेका थिए। तर प्रसाईंले आफ्नो सम्बोधनको क्रममा राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरे।

उनले राजतन्त्र चाहिने हो भने पूर्वराजा शाह र उनका परिवारका सदस्यहरू पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने सर्त राखे। प्रसाईंले आफू पूर्वराजा शाहलाई देखाएर सांसद हुने खालको मान्छे नभएको पनि पटकपटक बताए।

माओवादी छाडेर एमाले प्रवेश गरेका प्रसाईंले हाल सो पार्टी पनि परित्याग गरी राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियान संचालन गर्ने भन्दै काठमाडौंमा आन्दोलनको कार्यक्रम सुरु गरेका हुन्।

आफूले व्यवसाय गरिखाने, रोजगारीको अवसर सृजना गर्ने बाटो राज्यले बन्द गरेपछि आन्दोलन गर्न बाध्य हुनु परेको उनको भनाइ थियो।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१