
काठमाडाैं । नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । घाइते ओपनर कुशल भुर्तेलको स्थानमा नेपालले आज तीव्र गतिका बलर प्रतिश जिसीलाई मौका दिएको छ ।
प्रतिशले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालको लागि डेब्यू गरेका थिए । उक्त खेलमा ६ ओभरमा ३७ रन खर्चेर १ विकेट लिएका प्रतिश त्यसपछि भने बेन्चमा थिए ।
युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ छैटौं स्थानमा छ ।
शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्ने आशा कायमै राख्न नेपालले घरेलु टोली युएईलाई हराउनै पर्ने हुन्छ । नेपालको लागि युएईससँगको खेल निकै महत्वपूर्ण छ ।
नेपालको प्लेइङ ११ :
ज्ञानेन्द्र मल्ल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, प्रतिश जि.सी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने ।