अन्जन र अरुणा बने सर्वोत्कृष्ट खेलाडी

काठमाडाैं । १९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष पुरुष खेलाडीको अवार्ड नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका फरवार्ड अन्जन विष्टले जितेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च ले मंगलबार काठमाडौंमा आयोजना गरेको बिशेष समारोहकाबीच अन्जनलाई वर्ष पुरुष खेलाडी अवार्ड प्रदान गरेको हो ।

अन्जनले अवार्डसँगै बजाज पल्सर मोटरसाइल प्राप्त गरे ।

त्यस्तै, बर्ष महिला खेलाडीको अवार्ड नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले जितेकी छन् ।

त्यस्तै, लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन रघुराज वन्तलाई प्रदान गरिएको छ । लाइफटाइम एचिभमेन्ट अवार्डसँगै वन्तले नगद ५० हजार प्राप्त गरे ।

पिपुल्स च्वाइस विधाको अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी छन् । त्यस्तै, नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अलमुताइरी वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् भने ओलम्पियन पारा खेलाडी पलेशा गोबद्र्धन श्रेष्ठलाई पारा एथलिट अवार्ड प्रदान गरेको छ ।

त्यस्तै, नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका सदस्य मनिष डाँगी वर्षको उत्कृष्ट युवा खेलाडी घोषित हुन सफल भए ।