जजिरा एयरलाइन्सले पुन: शुरू गर्‍यो उडान

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्सले बिहीबारदेखि पुनःउडान शुरू गरेको छ । मौसमको कारण देखाएर भैरहवामा पुसदेखि उडान स्थगित गरेको जजिराले आजदेखि पुनः उडान सुरु गरेकाे हाे ।

मौसमका कारण देखाएर गत पुस ६ गतेदेखि उडान रोकेको जजिराले साढे २ महिनापछि पुनः भैरहवा–कुवेत, कुवेत–भैरहवाको उडान शुरू गरेको हो ।

बिहीबार बिहान ७ बजेर १५ मिनेटमा ६६ जना यात्रुसहित भैरहवामा अवतरण भएको जजिराको विमान ९३ यात्रु लिएर ८ : २० बजे फर्किएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

जजिराले बिहीबार, शनिबार र मंगलबार गरी साताको तीन दिन उडान गर्ने तालिका छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जेठ २ गते उद्घाटन हुँदा कुवेतको जजिरा एयरलाइन्सले दैनिक उडान थालेको थियो । तर, यात्रु नभएको भन्दै केही समयपछि नै हप्ताको तीन दिन मात्र उडान गरिरहेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१