
काठमाडौं । गुराँस गाउँपालिकाको वडा नम्बर ८ मा विवाह गर्नुअघि अनिवार्य रुपमा सिफारिस लिनुपर्ने भएको छ । वडा कार्यालयले फागुन २३ गतेदेखि लागू हुने गरी सो निर्णय गरेको हो ।
वडाध्यक्ष दीपेन्द्र वलीका अनुसार फागुन १२ गते बसेको वडा समितिको बैठकले वडाभित्र वैवाहिक कार्य गर्नुपरेमा वडा कार्यालयबाट पूर्व अनुमति लिनुपर्ने निर्णय गरेको हाे ।
वडा कार्यालयले कानुनविपरित विवाह गर्न निषेध गरेपनि लुकिछिपी बालविवाह हुने गरेको सो निर्णय गरिएको उनले बताए ।
उक्त गाउँलाई गत मंसिर २९ गते बालमैत्री वडा घोषणा गरिएको छ । ‘सोही बमोजिम पनि बालविवाहको अन्त्य हुनु पर्ने हो’, उनले भने, ‘तर त्यसो भएन । खुल्ला रुपमा बालविवाहको अन्त्य भएपनि लुकिछिपी हुने गरेको पायौैँ’ ।
ब्रतबन्धको निमन्त्रणामा बालविवाहको भोज खुवाउने गरेको पाइएको उनले बताए । उनका अनुसार सिफारिसको लागि विवाह गर्ने केटा र केटीको जन्मदर्ता पेश गरेर सिफारिस लिन सकिने छ ।
‘सुरुमा कठिन होला । तर विस्तारै कार्यान्वयनमा आएसँगै सबैमा बानी बस्ने आशा लिएका छौँ’ उनले भने ।
उनले समुदायका व्यक्तिहरुको मिलमतोमा विवाह हुने भएकोले वडाले कुनै जानकारी नपाउने बताए । आफूहरुले थाहा पाएको अवस्थामा कानुनबमोजिम कारवाही गरिएको उनको दाबी छ ।