सभामुखले पत्रकारबारे दिएका अभिव्यक्ति फिर्ता नलिए महासंघले दबाबमूलक कार्यक्रम गर्ने

काठमाडौं । सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएका अभिव्यक्ति फिर्ता नलिए नेपाल पत्रकार महासंघले दबाबमूलक कार्यक्रम गर्ने बताएको छ।

नेपाल पत्रकार महासंघले संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र नवनिर्वाचित सभामुखलाई बधाई ज्ञापन गर्ने कार्यक्रमसहित हिजो सभामुख देवराज घिमिरे र नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डलबीच भएको भेटघाटका क्रममा सभामुख घिमिरे पत्रकारहरू बिक्रीमा रहेको भन्दै अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको पत्रकार महासंघले ठहर गरेको छ।

‘सार्वभौम संसदको मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुस्खद छु, महासंघले विज्ञप्तिमा जारी गर्दै भनेको छ।

सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत् ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको थियो। तर, सचिवालयबाट आधिकारिक धारणा आएन।

आफ्ना आरोप पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्धता जनाउन सभामुखसमक्ष महासंघ आग्रह गरेको छ।

‘सभामुखबाट आएको आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभएमा महासंघ कानूनीलगायतका अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुने जानकारी गराइन्छु, महासंघले भनेको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१