• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

अब पेट्रोलको पैसा नगदमा होइन डिजिटल

काठमाडौं । डिजिटल बैंकिङमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेतना कार्यक्रमसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ।

सम्झौतापत्रमा एसोसिएसनका तर्फबाट अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा बैंकका उच्च पदस्थ अधिकारी एवं एसोसिएसनका पदाधिकारीहरुको उपस्थिति थियो।

सम्झौतापश्चात एसोसिएसनसँग आबद्ध पेट्रोल पम्पहरुले पीओएस, क्यूआरलगायत अन्य डिजिटल भुक्तानी उपकरणको प्रयोग गरी ग्राहकलाई बिक्री गरेको तेल खरिदको भुक्तानी डिजिटल प्लेटफर्ममार्फत सरल र विश्वासिलो तरिकाले लिने सुविधा प्रदान गर्नेछन्।

सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले ग्रिन इकोनोमीलाई टेवा पुर्याउने बैंकको रणनीतिअनुरुप बैंकले विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी डिजिटल कारोबारहरुको सम्झौता गरिरहेको जानकारी दिए। उनले वास्तविक रुपमा डिजिटल्ली स्मार्ट बैंक बन्ने दीर्घकालीन लक्ष्यका साथ बैंकले परिमार्जित र परिष्कृत डिजिटल सेवासुविधाहरु तथा सचेतना कार्यक्रमहरु आफ्ना ग्राहकलाई प्रदान गरिरहेको अवगत गराए।

कार्यक्रममा एसोसिएसनका अध्यक्ष प्रधानले देशको वार्षिक झन्डै २ खर्बको तेल खरिदबिक्री कारोबारलाई डिजिटल कारोबारमा आबद्ध गराउन माछापुच्छ्रे बैंकको पहलले समग्र अर्थतन्त्रको डिजिटल कारोबारमा सहयोग पुग्ने धारणा व्यक्त गरे। उनले पेट्रोलियम पदार्थको बिक्री गर्ने बिक्रेता एवं खरिदकर्ता दुवै पक्षले क्यूआर कोड तथा अन्य डिजिटल माध्यमहरु खोज्ने हुँदा बैंकसँगको सम्झौतापश्चात सहज र सरल रुपमा सेवाग्राहीलाई डिजिटल भुक्तानी सेवा पुग्नेमा आफू विश्वस्त रहेको बताए।

सम्झौतापश्चात बैंकले विभिन्न चरणमा एसोसिएसनसँग सम्बद्ध व्यक्ति तथा पेट्रोल पम्पहरुमा डिजिटल सचेतना कार्यक्रमहरुसमेत सञ्चालन गर्नेछ। माछापुच्छ्रे बैंकले डिजिटल सेवा प्रदान गरेसँगै दैनिक रुपमा उल्लेख्य मात्रामा नगद कारोबार हुने पेट्रोल पम्पहरुमा खुद्रा पैसाको कारोबारको झन्झट, नक्कली नोटको कारोबार नियन्त्रण तथा नगद व्यवस्थापनमा सहज हुनेछ।

माछापुच्छ्रे बैंकले डिजिटल कारोबारलाई बढावा दिने उद्देश्यका साथ विभिन्न समयमा विभिन्न योजनाहरु सञ्चालन गर्दै आएको छ। सोहीअन्तर्गत हाल बैंकले हरेक हप्ताको सोमबारका लागि मन्डे म्याडनेस योजना सञ्चालन गरिरहेको छ। जसअन्तर्गत हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पीओएस वा ई–कमबाट भुक्तानी गर्दा २३ प्रतिशत वा रु. १२३ डेबिड कार्डमा र क्रेडिट कार्डमा २३ प्रतिशत वा रु. २२३ सम्म छुट पाउनेछन्। यो योजना हरेक सोमबार बिहान ७ बजेदेखि १० बजेसम्म कार्डबाट गरिएका कारोबारमा मात्र लागू हुनेछ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा, २०५ एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।