मकवानपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको बा २५ प १९०८ नंको मोटरसाइकलले ठक्कर दिँदा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते स्याङ्तानलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । स्याङ्तानको शव परीक्षणका लागि हाल हेटौँडा अस्पतालमा राखिएको छ । मोटरसाइकल चालक फरार भएका छन् । प्रहरीको अनुसार उनको खोजी कार्य भइरहेको छ ।