काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले यतिबेला आफू कांग्रेसमा नरहेकाे जानकारी गराइसकेका छन् ।
वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा उम्मेदवार बनाउने प्रस्ताव गरेपछि नेपाली कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा उनलाई रोक्न सक्रिय भएका थिए । तर उनीहरुकाे प्रयास सफल हुन सकेन ।
वाग्लेजत्तिको सम्भावना भएको नेतालाई गुमाउन नहुने कांग्रेसका महामन्त्रीद्वयकाे विचार थियाे । यही अनुरुप रास्वपाले वाग्लेलाई उपनिर्वाचनकाे उम्मेदवार बनाउने प्रस्ताव गरेकाे थाहा पाउनेवित्तिकै महामन्त्रीद्वयले सम्भावित विकल्प र अरु अवसरहरुबारे समेत कुरा गर्न प्रयास गरेका थिए ।
तर वाग्ले आफैँले भेट्न नसक्ने जानकारी दिएर विगत केही दिनदेखि पन्छिन खाेजिरहेकाे कांग्रेसका एक नेताले जानकारी दिए । उनले भने, ‘रास्वपाकाे प्रस्तावपछि महामन्त्रीद्वयले भेटेर छलफल गर्न खाेज्नुभएकाे थियाे तर वाग्ले,जी आफैँ पन्छिन खाेज्नु भयाे । उहाँले नेपाली कांग्रेस छाड्ने निर्णय पहिले तय गरिसक्नु भएकाे रहेछ ।’
वाग्लेले आफू नेपाली कांग्रेसबाट अलग भएकाे घाेषणा गरिसकेका छन् । तर रास्वपाकाे प्रस्तावमा अहिलेसम्म उनले उत्तर नदिएकाे बताइएकाे छ ।
वाग्लेले सामाजिक सञ्जालमा आफूले पार्टी छाेड्नुकाे कारण देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको उल्लेख गरेका छन् । उनले समाजिक सञ्जालमा लेखेका छन्-
विसं २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु ।
त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेँ । विशेषत: योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ ।
तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।
अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ ।
सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँग नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु । आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो । जय नेपाल ।