• २०८३ असार ११
  • 2026 June 25, Thursday

मैले गरेजति काम अरुले गरे देश बन्न समय लाग्दैन: खानेपानीमन्त्री खान

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले आफूले गरेको जति काम अन्य मन्त्रालयले गर्ने हो भने देश बन्न समय नलाग्ने बताएका छन् ।शुक्रबार सिंहदरबारभित्र ४ स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्दै मन्त्री खानले यस्तो दाबी गरेका हुन् ।

उनले आफूले मन्त्री बनेर काम गरेको लगभग साढे २ महिना भएको भन्दै यो अवधिमा आफूले सोचेअनुसार काम गर्न नसकेपनि राम्रो काम गरेको दाबी गरे । उनले आफूले मन्त्री बनिसकेपछि नै सबै नेपालीहरुलाई जार र बोतलको पानी किन्नुपर्ने अवस्थाबाट मुक्त गरी सार्वजनिक धाराको पानी खुवाउने घोषणाअनुसार सिंहदरबारबाट काम शुरु गरेको बताए ।

उनले मन्त्रालयका विभिन्न समस्याका कारण अझैपनि आफूले चाहेको गतिमा काम गर्न नसकेको बताए । मन्त्री खानले बोतल र जारमा महंगो मूल्यको नियन्त्रण गर्ने काममा मन्त्रालय लागेको भन्दै पानीको मूल्य ५ महिनाभित्र घटाएरै छोड्ने दाबी गरे । उनले देशका रेक क्षेत्रमा ५ वर्षभित्र खानेपानीको समस्या समाधान गर्नेगरी मन्त्रालयले काम गरिरहेको बताए ।