अहिलेको टालटुले प्रणालीले कुनै गतिलो परिणाम दिँदैन : ज्ञानेन्द्र शाह (पूर्णपाठ)

सुनसरी । पूर्वराजा ज्ञानेन्द्र शाहले परिवर्तन देखाउनकै लागि भएको अहिलेको टालटुले प्रणालीले कुनै खँदिलो परिणाम नदिने बताएका छन्।

सुनसरीको इनरुवामा सोमबार गरिएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधनका क्रममा उनले परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुले प्रणालीले कुनै खँदिलो परिणाम नदिने बताएका हुन्।

उनले अहिलेको अवस्थामा राष्ट्रियताको रक्षा गर्दै राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु पर्नेमा पनि जोड दिए । शान्ति, सुव्यवस्था र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटो लाग्नुपर्ने शाहको भनाइ थियो।

पूर्वराजा शाहले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिएर नभइ नेपालको सुहाउँदो राष्ट्रिय अवधारणालाई अंगाल्न सक्नुपर्नेमा जोड दिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहको सम्बोधनको पूर्णपाठ

उपस्थित दीदीबहीनी तथा दाजुभाइहरु,

सुनसरी जिल्लाको यो सुन्दर नगरी इनरुवामा भेला भएर तपाईंहरुले राष्ट्रको हित चिन्तन गर्दै र आजका जनआकांक्षा तथा आवश्यकताहरुलाई औँलाएर जुन प्रकारको अभिनन्दन भाव प्रकट गर्नु भएको छ, त्यसप्रति म कृतज्ञता व्यक्त गर्दछु।

सदासर्वदा स्वधिन रहेको र आफ्नै मौलिख मान्यताभित्र स्वाभिमानपूर्वक आधुनिकता तर्फ लागेको हाम्रो नेपाल हामीलाई सधैँ राम्रो लाग्छ, हामीलाई सधैँ प्यारो लाग्छ। राष्ट्रको यही गौरवगाथा र राष्ट्रप्रतिको त्यही अघाध प्रेम फेरि एकपटक यहाँ प्रकट भएको छ। तपाईंहरुले दर्शाउनु भएको यस्तो देशभक्ति हामीले हृदयदेखि सम्मान गर्दछौं। आफ्नो देशलाई माया गरेर, आफ्नो देशको अवस्थालाई बुझेर तपाईंहरुबाट जसप्रकारको चिन्ता चासो र चिन्तन प्रस्तुत भएको छ त्यसमा मेरो गहिरो ध्यान पुगेको छ।

स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासन बिना हुन सक्दैन।कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ।परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदीलो परिणाम दिँदैन।

निश्चयपनि हामीले राष्ट्रियता र राष्ट्र एकताको रक्षा गर्नुछ, निश्चयपनि हामीले हाम्रो राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु छ र निश्चयपनि हामीले शान्ति, सुब्यवस्था र सुशासनका माध्यमबाट चौतर्फि विकासको बाटो लाग्नु
छ।
राष्ट्र नै हाम्रो आफ्नो ब्रम्ह हो।आफ्नो भूभागका जनता नै हाम्रा विधाता हुन, अनि यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहम् धर्म हो।त्यसैले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झीएर होइन अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नु पर्दछ।तपाईहरु जस्तै सबैमा यस्तै राष्ट्रिय दृष्टिकोण जाग्रत हुदै जावोस्।

धन्यवाद। जय नेपाल।
सुनसरी, इनरुवा, चैत्र २०, २०७९

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१