काठमाडौं । बैतडीका तीन युवती बेपत्ता भएका छन् । मेलौली नगरपालिकाका दुई र पाटन नगरपालिकाकी एक युवती बेपत्ता भएका हुन् ।
मेलौली–१ सिराडकी लक्ष्मी पोखरेल सोमबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन् । सोमबार बिहान ३ बजेतिर १ वर्षीय छोरा कोठामा एक्लै रूँदै गरेको भेटिएको र लक्ष्मी कोठामा नभेटिएको उनका देवर निराजन पोखरेलले बताए ।
भाउजू सम्पर्कविहीन भएपछि खोजीका लागि तस्वदेही इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको छ । सम्पर्कविहीन भएकी लक्ष्मीका श्रीमान राजेन्द्र पोखरेल रोजगारीको सिलसिलामा भारतको बेङ्गलोरमा छन् । उनीहरूका दुई छोरा छन् ।
यस्तै, मेलौली नगरपालिका–१ जर्कु सैनी निवासी २० वर्षीया पार्वती खत्री नायक गएको छ दिनदेखि बेपत्ता भएकी छन् । यही चैत १६ गते घरबाट हिँडेकी उनी अहिलेसम्म सम्पर्कमा नआएको जनाइएको छ। पार्वतीका श्रीमान सागरसिंह नायक रोजगारीको सिलसिलामा मलेसियामा छन् ।
पार्वतीलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई खबर गरिदिन आग्रह गरिएको छ ।
पाटन नगरपालिका–४ जेउड्याकी १५ वर्षीया गोमती लाबड पनि छ दिनदेखि बेपत्ता छिन् ।
यही चैत १५ गतेदेखि छोरी सम्पर्कविहीन भएकी गोमतीका बुवा दिलीप लाबडले जानकारी दिए । चैत १५ गते देहिमाण्डौं जात्रामा जान्छु भनेर घरबाट हिँडेकी गोमती अहिलेसम्म घर फर्किएकी छैनन् ।
इलाका प्रहरी कार्यालयका प्रमुख नारायण पन्तले युवतीहरू बेपत्ता भएको जानकारी प्राप्त भएकाले खोजी जारी रहेको बताए ।