
काठमाडौं । पर्साको ठोरी गाउँपालिका-४ विजय बस्तीको गाउँमा पसेर स्थानीयका भैंसी र बाख्रा खाने बाघलाई नियन्त्रणमा लिइएको छ ।
मंगलबार राति पर्सा राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको टोलीको उक्त बाघलाई नियन्त्रणमा लिएको हो ।
उक्त बाघले १०,१२ दिनदेखि गाउँमा पसेर १२ बाख्रा, खसी र दुईटा भैंसीका पाडा मारेको निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिए ।
नियन्त्रणमा लिइएको भाले बाघ घाइते अवस्थामा रहेको उनले बताए ।
‘उसको मुख, टाउको र खुट्टामा घाउ छ । अर्को बाघसँग लड्दा घाइते भएको हुन सक्ने देखिएको छ,’ खड्काले भने,‘अब केही दिन हामी उसलाई खोरमा राखरे उपचार गर्छौं ।’
निको भएपछि बाघलाई के गर्ने भन्नेबारे विभाग र मन्त्रालयसँग सल्लाह गरेर निर्णय गर्ने उनले बताए ।