के कोभिड साँच्चै जनावरबाट उत्पत्ति भएर मानिसमा सरेको हो ?

चिनियाँ अनुसन्धानकर्ताहरूको एउटा टोलीले सबैभन्दा पहिले कोभिड-१९ फैलिएको ठानिएको बजारबाट तीन वर्षअघि सङ्कलन गरिएका नमुनाहरूको वैज्ञानिक विश्लेषण प्रकाशन गरेको छ ।

कोरोनाभाइरस र कोभिड-१९ को उत्पत्तिबारे गरिएको अनुसन्धानको केन्द्रबिन्दुमा हुनानस्थित समुद्री खाद्यपदार्थ र वन्यजन्तु बजार छ ।

सन् २०२० मा उक्त बजारबाट सङ्कलित जैविक प्रमाणहरूको निष्पक्ष वैज्ञानिकहरूद्वारा समीक्षा गरेको यो पहिलो अनुसन्धान हो ।

भाइरसलाई बजारमा बेचिने जनावरसँग जोडेर यो अनुसन्धानले कोभिड कसरी फैलियो भन्ने विषयमा नयाँ खोज आरम्भ गर्ने ठानिएको छ ।

उक्त विश्लेषणका आधारमा वैज्ञानिकहरूको एक समूहले कोभिड १९ सङ्क्रमण गराउने भाइरस सबैभन्दा पहिला मानिसमा कसरी सर्‍यो भन्नेबारे सबैभन्दा गतिलो प्रमाण फेला पारिएको दाबी गरेको छ ।

यो शताब्दीकै सबैभन्दा खराब महामारीको कारण चर्को राजनीतिक विषय बनिरहेका समयमा पछिल्लो वैज्ञानिक खोजले यसको उत्पत्ति पत्ता लगाउने विषयमा नयाँ मोड ल्याएको छ ।

यो खोजले धेरै प्रतिस्पर्धी सिद्धान्तहरू अघि सारेको छ जुन प्रमाणित भइसकेका चाहिँ छैनन् तर अस्वीकृत हुने निष्कर्ष पनि कसैले प्रस्तुत गरिसकेको छैन ।

सबैभन्दा पछिल्लो विश्लेषणले यो भाइरसको उत्पत्ति एउटा प्रजातिको जनावरबाट भएकोप्रति सङ्केत गरेको छ ।

यो विश्लेषण तीन वर्षअघि हुनानस्थित एक वन्यजन्तुको कारोबार हुने बजारबाट सङ्कलन गरिएका प्रमाणहरूमा आधारित छ जुन ठाउँलाई पहिलो पटक महामारी फैलिएको केन्द्र पनि ठानिएको छ ।

‘र्‍याकुन डग’ सङ्क्रमण सार्ने जनावर

कोभिड एउटा रहस्यकै रूपमा रहेको सन् २०२० को सुरुवाती समयमा चीनको रोग नियन्त्रण केन्द्रले सो बजारबाट नमुनाहरू सङ्कलन गरेको थियो ।

ती नमुनाहरूमा रहेका आनुवंशिक जानकारीहरूको केही अंश हालै मात्र सार्वजनिक गरिएको छ ।

अनुसन्धानकर्ताहरूले यसलाई विश्लेषण गर्दै कुकुर प्रजातिको जङ्गली जनावर ‘र्‍याकुन डग’ मानिसहरूमा कोभिड सङ्क्रमण सार्ने “पहिलो जनावर” भएको सङ्केत गरेका छन् ।

मार्च २० मा अनलाइनमा प्रकाशित विश्लेषणको निष्कर्षमा जिउँदा जङ्गली जनावरहरू मासुका लागि बिक्री हुने बजारको जुन ठाउँबाट लिइएको स्वाबमा सार्स कोभ २ भाइरस भेटिएको थियो त्यहाँ ‘र्‍याकुन डग’को डीएनए पनि फेला पारिएको थियो ।

बजार लामो समयदेखि बन्द रहेको र बिक्रीमा राखिएका जनावरहरू पनि मारिएका कारण कोभिड भाइरस फैलावटको भद्रगोल खोजीमा अझैसम्म यकिन प्रमाण फेला परेको छैन ।

यस्तो संवेदनशील तथ्याङ्क प्रकाशनका लागि तीन वर्षसम्म गरिएको ढिलाइलाई कतिपय वैज्ञानिकहरूले “निन्दनीय” पनि भनेका छन् ।

प्रयोगशालाबाट बाहिरिएको अमेरिकी आशङ्का कायमै

अमेरिकी अधिकारीहरूले कोभिड गराउने कोरोनाभाइरस प्रयोगशालाबाट बाहिरिएको आशङ्कामा आफ्नो विश्वास बलियो बनाउँदै गर्दा यस्तो अनुसन्धान प्रकाशित भएको छ ।

चिनियाँ सरकारले भने भाइरस प्रयोगशालाबाट बाहिरिएको भन्ने कुरा अस्वीकार गर्दै आएको छ । अमेरिकी ऊर्जा मन्त्रालयसँगै सङ्घीय जाँच ब्यूरो एफबीआईले पनि यसमा विश्वास गर्न सुरु गरेको छ ।

धेरै वटा अमेरिकी मन्त्रालय र निकायहरूले कोभिड उत्पत्तिको रहस्यबारे अनुसन्धान गरेर फरक-फरक निष्कर्ष निकालेका छन् ।

तर मार्च १ मा एफबीआईका निर्देशकले “कोभिडको उत्पत्ति अस्पष्ट बनाउन बेइजिङले सक्दो प्रयास गरिरहेको” भन्दै प्रयोगशालाबाट बाहिरिएको कुरामा आफ्नो कार्यालय विश्वस्त रहेको बताएका थिए ।

एफबीआईले गरेको अनुसन्धान भने अझैसम्म सार्वजनिक गरिएको छैन ।

बीबीसीले कोभिडको उत्पत्तिबारे अध्ययनमा संलग्न केही वैज्ञानिकहरूसँग कुरा गरेको छ । उनीहरू पछिल्लो विश्लेषण कोभिड फैलिन सुरु भएको रहस्यमा सबैभन्दा नजिक रहेको विश्वास गर्छन् ।

तर अमेरिका र चीनबीचको विभाजनले यसको उत्पत्तिबारेको रहस्य पत्ता लगाउने वैज्ञानिक प्रयासहरूलाई असर गरिरहेको उनीहरू बताउँछन् ।

नयाँ अनुसन्धानले के देखाउँछ ?

प्यारिसस्थित इन्स्टिच्युट अफ इकोलोजी एन्ड इन्भाइरमेन्ट साइन्सका वरिष्ठ अनुसन्धाता डा. फ्लोरेन्स डिबारले बजारबाट सङ्कलित स्वाबको पूर्ण आनुवंशिक अनुक्रम पहिचान गरेकी थिइन् ।

वैज्ञानिकहरूले साझा स्थानमा उपलब्ध गराउने आनुवंशिक तथ्याङ्कहरू पाए लगत्तै उनी र उनका साथीहरूले भाइरस भेटिएकै स्थानमा रहेका कुन जनावरसँग उक्त नमुना मेल खान्छ भनेर अनुसन्धान गरेका थिए ।

“हामीले आफ्नो स्क्रिनमा परिणाम आउँदा सबैमा ‘र्‍याकुन डग’ मात्रै भेट्यौँ,” उनले भनिन् ।

“जनावरहरू र भाइरसहरू हामीले सँगसँगै भेट्टायौँ,” डिबार भन्छिन् ।

“त्यसले जनावरहरू सङ्क्रमित थिए भनेर प्रमाणित गर्दैन । हामीले देखेका कुराहरूका आधारमा यो व्याख्या सम्भव छ ।”

सिड्नी विश्वविद्यालयका प्राध्यापक एडी होम्स पनि यो अध्ययनमा सहभागी थिए ।

उनी जनावरबाट भाइरस उत्पत्ति भएको विषयमा अहिलेसम्म आफूहरूले पाएकामध्ये “यो नै सबैभन्दा राम्रो प्रमाण” भएको बताउँछन् ।

“हामी अब सबैभन्दा पहिले उत्पत्ति भएको जनावरसम्म पुग्न सक्दैनौँ। त्यो गइसक्यो” प्राध्यापक होम्स भन्छन् ।

“तर यो असाधारण आनुवंशिक तथ्याङ्कले त्यो रहस्य पत्ता लगाएको छ। त्यसले कुन जीवहरू त्यहाँ थिए मात्रै भन्दैन कि तिनीहरू बजारको ठ्याक्कै कहाँ थिए समेत भनेको छ,” उनले बीबीसीसँग भने ।

कोभिडको उत्पत्ति पत्ता लगाउन अब वैज्ञानिकहरूले के गर्न सक्छन् ?

नयाँ तथ्याङ्कले कोभिडको उत्पत्ति पत्ता लगाउन वैज्ञानिकहरूलाई थप बाटो देखाइदिएको छ । तर त्यो बाटो पछ्याउन भने सहज छैन ।

सन् २०२० मा अनुसन्धानका लागि वुहान पुगेको विश्व स्वास्थ्य सङ्गठनको टोलीमा नेदरल्यान्डस् स्थित अरासमस विश्वविद्यालयका प्राध्यापक मरिओन कुपमन्स पनि सहभागी थिइन् ।

उनले नयाँ विश्लेषणहरूले कोभिड निश्चित पसलहरूमै भेटिएको पत्ता लगाएका कारण अब त्यहाँ ल्याइएका जनावरहरू कुन ठाउँबाट ल्याइएका थिए भनेर अनुसन्धान हुनुपर्ने बताइन् ।

“त्यो पक्कै पनि गैरकानुनी विक्री थियो। त्यस कारण अब त्यो पत्ता लाग्छ कि लाग्दैन भन्ने प्रश्न हो,” उनले भनिन् ।

खोप लगाएका व्यक्तिलाई किन कोरोनाभाइरस लाग्छ ?

विक्रीका लागि यस्ता जनावरहरू पालिने ठाउँमा पनि जैविक प्रमाणहरू भेटिन सक्ने सम्भावना रहन्छ ।

यदि अनुसन्धानकर्ताहरूले सार्स कोभ २ बाट सङ्क्रमित भएर एन्टिबडी बनाइसकेका जनावरहरू पालिने ठाउँमा भेट्टाए भने त्यसले अर्को सङ्केत मिल्न सक्छ । यो आनुवंशिक सूचनाले अहिले भइरहेको खोजीलाई अझै सानो ठाउँमा सीमित गर्न सहयोग पुग्नसक्छ ।

तर जनावरमा ठ्याक्कै त्यही भाइरस भेट्न धेरै कठिन हुने प्राध्यापक होम्स बताउँछन् ।

यसले महामारीको सुरुवातबारेका प्रश्नहरूको उत्तर दिन्छ ?

यो यकिन प्रमाण होइन र त्यो हामीले पत्ता नलगाउन पनि सक्छौँ ।

त्यो प्रमाणको खोजीमा धेरै राजनीतिकरण भइसकेको छ । एउटा सिद्धान्तले जङ्गली जनावरबाट भाइरस उत्पत्ति भएको देखाउँछ भने अर्कोले वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट भाइरस बाहिरिएकोतर्फ खोजी केन्द्रित गरेको छ ।

अमेरिकाले गरिरहेका अनुसन्धानमा एफबीआईले हस्तक्षेप गरेपछि यो प्रयोगशालाबाट भाइरस बाहिरिएको विषयले फेरि समाचारका शीर्षक बनाएको छ ।

बीबीसी साइन्स इन एक्सनसँगको अन्तर्वार्तामा प्राध्यापक होम्सले भने, “कोभिड फैलिन बजारबाट सुरु भयो । र अब हामी बुझ्न सक्छौँ कि त्यहाँ केही महत्त्वपूर्ण जनावरहरू थिए ।

“त्यो ३० किलोमिटर टाढाको प्रयोगशालाबाट सुरु भएन । अहिलेसम्म प्रयोगशाला वरपर सुरुवातमा एउटा पनि सङ्क्रमण देखिएको प्रमाण फेला परेको छैन ।”

तर यस्तो विवरण सार्वजनिक गर्न भएको ढिलाइले चिनियाँ रोग नियन्त्रण केन्द्र विरुद्ध आक्रोश र निराशा पैदा भएको छ ।

गत ज्यानुअरीमै प्रकाशित भएको विवरणमा मानिसहरूको ध्यान पुगेकै थिएन । कतिपयले चिनियाँ रोग नियन्त्रण केन्द्रका अनुसन्धाताहरूले आफ्नो अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्नुअघि यस्तो तथ्याङ्क सार्वजनिक गरेको हुनसक्ने ठानेका छन् ।

अरू अनुसन्धानकर्ताहरूले पनि यो सूचनाबारे जानकारी पाएको थाहा हुन आएपछि यसलाई फेरि लुकाइएको थियो ।

उक्त प्रतिवेदन एप्रिल ५ मा पुनः सार्वजनिक पहुँच हुनेगरी ‘नेचर’ जर्नलमा प्रकाशन गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानम गेहब्रेयससले हालै मात्र कोभिड उत्पत्तिसम्बन्धी हरेक विवरण तत्कालै अन्तर्राष्ट्रिय समुदायसँग साझा गरिनुपर्ने बताएका थिए ।

कोरोनाभाइरस नयाँ भेरिअन्टको सङ्क्रमण बढ्दै गर्दा चिन्तित हुनु पर्छ ?

प्राध्यापक होम्स राजनीतिभन्दा माथि उठेर विशुद्ध विज्ञानमा आधारित भएर भाइरसको उत्पत्तिबारे खोजी हुनुपर्ने बताउँछन् ।

“इतिहासको विकास क्रममा पनि जङ्गली जनावरबाटै मानिसहरूमा भाइरस आएको छ । हामीले गर्न सक्ने सबैभन्दा राम्रो काम भनेको यो कुराको राम्रो निगरानी गर्ने र आफूलाई अलग गर्ने हो,” उनले भने ।

“किनभने यस्तो (महामारी) फेरि पनि हुन सक्छ ।”

–बीबीसी न्यूज र बीबीसी विश्व सेवा (बीबीसी नेपालीबाट साभार)

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१