वैशाख १ गतेदेखि ओटिटीमा फिल्म ‘प्रेमगन्ज’

काठमाडौं । बेनिशा हमाल अभिनीत फिल्म ‘प्रेमगन्ज’ ओटिटीमा रिलिज हुने भएको छ । नयाँ वर्षको अवसर पारेर फिल्म वैशाख १ गतेदेखि सिनेमाघर एपमा रिलिज हुन लागेको हो ।

निर्माण टिमले हलमा छुटेका दर्शकलाई लक्षित गरी फिल्म ओटिटीमा रिलिज गर्न लागेका जानकारी दिए ।

ओटिटी रिलिज पूर्वसन्ध्यामा फिल्ममा समावेशी ‘फेरि भेट होला नहोला’ बोलको गीत सार्वजनिक गरिएको छ ।

भदौ ३ गते हलमा रिलिज भएको फिल्मले सकारात्मक प्रतिक्रिया बटुलेको थियो । फिल्ममा दुई कालखण्डको प्रेमकथा प्रस्तुत गरिएको छ ।

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्ममा बेनिशासँगै तेज गिरी, सम्पदा बानियाँ, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, पवन भट्टराईलगायत कलाकारको अभिनय छ । अभिनेत्री सुरक्षा पन्त अतिथि भूमिकामा छिन् ।

चलचित्र चौतारीले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने प्रस्तुत कर्ता राजु फुयाल हुन् । सञ्जय लामाले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१